माथिल्लो तामाकोसीको सेयर सूचीकृत हुँदै



काठमाडौं : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले १० करोड ५९ लाख कित्ता साधारण सेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेन्जमा आवेदन दिएको छ । 

 

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको सेयर दोस्रो बजारमा कारोवार हुनेछ । 

 

स्टकका अनुसार १० अर्ब ५९ करोड बराबरको सेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोडको साधारण सेयर बिक्री गरेको थियो । 

 

बिक्री भएको सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । कम्पनीले केही वर्षपहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरेको थियो । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर रहेको छ ।

 

स्टकले तामाकोसीको सेयरको सुरुको कारोबार मूल्य केकति हुने भन्नेबारे जानकारी दिएको छैन । सेयर बजारमा नेपाल टेलिकमपछि यति ठूलो मात्राको सेयर सूचीकरण हुन लागेको पहिलो पटक हो । टेलिकमको कुल १५ करोड कित्ता सेयर सूचीकृत छ ।

प्रतिक्रिया दिनुहोस्