सई पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला धनुषा इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी)मा कार्यरत प्रहरी नायव निरीक्षकविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रहरी नायव निरीक्षक कालिचरण पंजियारले सेवाग्राहीलाई दुर्घटनाको रकम दिलाई दिए बापत घुस लिएको आरोपमा आज (शुक्रबार) विशेष जिल्ला अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता प्रदपीकुमार कोइरालाले जानकारी दिए ।

प्रहरी नायव निरीक्षक कालिचरण पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएका टोलीले प्रहरी नायव निरीक्षक पंजियारलाई सेवाग्राहीबाट १५ हजार घुस रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

अनुसन्धानको क्रममा प्रहरी नायव निरीक्षक पंजियारले सेवाग्राहीलाई दुर्घटनाको रकम दिलाई दिए बापत घुस माग गरी लिएको तथ्य पुष्टि भएको प्रवक्ता कोइरालाले बताए ।

प्रहरी नायव निरीक्षक पंजियारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज कालिचरण पंजियारलाई बिगो १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्