मूल्य नियन्त्रण नभएको भन्दै सांसदहरुले गरे सरकारको चर्को आलोचना



काठमाडौं : चाडपर्वका बेलामा पनि चिनीलगायत अति आवश्यकीय बस्तुको मूल्य नियन्त्रण गर्न गम्भिर नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । 

 

सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको शुक्रबार बसेको बैठकमा सांसद प्रेमबहादुर आलेले प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढि मूल्यमा चिनीको विक्री विवरण गर्नेको पहिचान गरी कडा कार्वाही गर्न पनि माग गरे ।

 

उनले सरकारका सम्बन्धित निकायका पदाधिकारीहरु सहितको बैठकमा चिनीको आयातमा प्रतिबन्द किन लगाएको भनेर आक्रोश पनि व्यक्त गरे । सांसद आलेले चिनी, तेललगायतका दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रणका लागि गम्भिर भएर अनुगमनका खटिन पनि सरकारका सम्बन्धित निकायका कर्मचारीलाई सचेत गराए ।

 

समितिकी अर्का सदस्य चन्दा चौंधरीले उखु कृषकको १ अरव ६९ करोड बक्यौता रकम उखु मिल मालिकबाट दिलाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले भाटभटेनी सुपर मार्केटमा ५९ रुपैयाँ प्रतिकिलो चिनीको विक्री वितरण भइरहेको उल्लेख गर्दै त्यसको कारण खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए । अन्य बस्तुमा मूल्य बढाएर चिनीमा मूल्य घटाउने त्यस्ता सुपर मार्केटहरुलाई कार्वाहीको दायरामा ल्याउन पनि सरकारलाई सांसद चौंधरीले सचेत गराए ।

 

समितिकी सदस्य पार्वता डिसी चौधरीले मूल्य बृद्धि नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप लगाए । चाडपर्वको बेला व्यापारीले चिनीको मूल्य बृद्धि गर्दा पनि सरकारले कुनै कदम लिन नसकेकोमा उनको आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस्