पत्रकारले असहयोग गरे : सांसद सिंह



भैरबबहादुर सिंह बझाङबाट प्रतिनिधिसभा सदस्य हुन् । निर्वाचन जितेर गइसकेपछि जिल्लाको विकास निर्माणमा पर्याप्त ध्यान नदिएको, आफ्ना र आफ्नो ठाउँलाई बढी च्यापेको जस्ता गुनासा बझाङबासीका छन्। यिनै गुनासामा केन्द्रित रहेर सांसद सिंहसँग द नेपाल टपले गरेको संक्षिप्त कुराकानी :  

 

तपाईंको फोन प्रायः उठ्दैन भन्ने व्यापक जनगुनासो छ नि किन यस्तो ?

म प्रायः व्यस्त हुनाले फोन उठाउन सक्दिनँ र सबैको उठाउन सम्भव हुँदैन पनि । धेरै पटक फोन आयो भने म कल ब्याक गर्छु ।

 

बझाङको नामै नसुनिएको गोरखनाथ मन्दिरलाई सय पर्यटकीय गन्तव्यमा राख्न तपाईंको भूमिका छ भनिन्छ नि ?

म सांसद भएकाले मलाई भन्नु स्वाभाविक हो । मैले जानेर बुझेर नै गोरखनाथ मन्दिरलाई देशका उत्कृष्ट सय गन्तव्यमा राख्न लगाएको हुँ । मन्दिर कहिल्यै पनि निजी हुँदैन । मैले एकीकृत प्रोजेक्ट भएकाले नौबिसका गोरखनाथ र बाँठपाला मन्दिरलाई छनोट गरेको हुँ । तर बाँठपाला मन्दिरको फोटो कसैले राखेनन् । हरेक ठाउँ बनाए राम्रा र आकर्षक बन्छन् । मैले दौल्यालवाडाका मानिसले पूजा गर्ने मन्दिरलाई पनि ३० लाख बजेट छुट्याएको छु । सुर्मा सरोवरका लागि १५ लाख छुट्याएको छु । कैलास गुफाका लागि २० लाखसम्म छुट्याएको छु । बुंगल पुरनचुलीका लागि २० लाख छुट्याएको छु । खप्तडका लागि पुरातत्व विभागसँग मिलेर २० लाख छुट्याएको छु । यी कुरा त मिडियामा आएनन् त ? मलाई केही पत्रकारले असहयोग गरिरहेका छन् । मैले गरेका काममा कहिल्यै प्रशंसा हुँदैन । आफ्नो ठाउँलाई रोज्यो भनेर धेरैले आक्रोश पोखेका हुन् । बनेपछि थाहा पाउँछन् । दुर्गाथली पनि पर्यटकीय स्थल हो ।

तपाईँले त्यही मन्दिरमात्र देख्नुभयो ? ऐतिहासिक राजा जयपृथ्वीबहादुर सिंहका भोपुर र हात्तीसार दरबार छन् ? यिनीहरुको संरक्षणमा किन आँखा जाँदैन ? 

हेर्नुहोस्, मन्दिर छनोट गर्नुपूर्व यसको पनि विचार गरेकै हो । दरबारको नक्सा जयपृथ्वीबहादुर सिंहका कसै न कसैसँग होला खोजौं भनेर मैले भनें । पुरातत्व विभागलाई सुझाएँ । कसैले केही प्रमाण ल्याएनन् । त्यसै रकम छुट्याएर मैले अरुका लागि रकम कुम्ल्याउने बाटो खोल्नु त बेकार हो । मैले दरबारमात्र होइन, देवीस्थान मन्दिरका लागि पनि ५ लाख छुट्याएँ, खोइ त्यो रकम ? 

 

कालंगा जलविद्युत आयोजना आफ्ना कार्यकर्तालाई नदिए निर्माण नै रोक्ने चेतावनी दिनुभयो भन्ने सुनिन्छ नि ? 

यो पनि मेरा विरोधी र पत्रकारको काम हो । कालंगा जलविद्युत आयोजनाका प्रमुख, इन्जिनियर र काम गर्ने कर्मचारीलाई सोध्नुहोस्, मैले यस्तो अभिव्यक्ति दिएको छैन । आजोजना सफल होस् भन्ने मेरो कामना हो । फाइदा खानेहरु मविरुद्ध बोलेका हन् । मैले आँगनमा विकास निर्माण हुनु राम्रो हो, स्थानीयले बढी अवसर पाउनुपर्छ मात्र भनेको हुँ । 

 

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको चार करोड रुपैयाँमा तपाईंको आँखा लाग्यो भन्ने आरोप छ नि ?

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यदल बनेर अघि बढेको हो । गाउँपालिका, प्रदेशका सांसद बसेर यो कार्यक्रम अघि बढेको हो । मैले मेरा कार्यकर्तालाई मात्र काम देऊ भनेको छैन । मेरा कार्यकर्ता नै भए पनि फाइदा हेरेर रकम विनियोजन गरेका हौं । आयोग र संघीय मन्त्रालयको यस कार्यक्रममा प्रत्यक्ष निगरानी रहन्छ । 

मैले स्थानीय पूर्वाधार साझेदारीअन्तर्गत धेरै ठाउँमा सिँचाइ आयोजना, चैनपुरनजिक कुच खानेपानी आयोजना, मोर्तली महिला घर, कमिटी र समितिमा रकम विनियोजन गर्न लगाएको छु ।

 

तपाईँ बझाङका लागि प्रतिनिधिसभा सदस्य तर संसद्मा तपाईं बझाङका लागि निकै कम बोल्नुहुन्छ भन्ने गुनासो छ नि ? 

असिना अनि बाढी पीडितका लागि बोल्ने म नै थिएँ । संसद्मा पनि कतिपटक बोल्न पाउने, के बोल्नेजस्ता ऐन नियम छन् । जथाभावी म बोल्दिनँ । अहिलेसम्म १५ पटकभन्दा बढी बोलिसकेको छु । संघीय संसदका भिडियो हेर्नुहोस् । बझाङको बजेट, पुल र विकासका लागि आवाज उठाएकै छु ।

 

तपाईँले बझाङको एउटा एफएम रेडियोलाई १० लाख छुट्याएको हल्ला छ नि ? सांसद विकास कोषको रकम दुरुपयोग भएन र ?

एउटा हैन, जनमुखी एफएमलाई मैले १० लाख छुट्याएकै हो । जो रेडियोले प्रचारप्रसार ग‍र्यो त्यसलाई दिने नै हो । यसअघि पनि सबै एफएम रेडियोलाई सबै सांसदले दिएकै छन् । प्रचारप्रसारबापत भनेर रकम विनियोजन गर्न मिल्छ । 

 

बझाङमा हवाईजहाजको सफल परीक्षण उडान भयो तर त्यसपछि जहाज नै फर्केन । यसबारे खै त आवाज उठाएको ? 

बझाङको एकमात्र देवल विमानस्थल कालोपत्रेको तयारी छ । तर जयपृथ्वी राजमार्गबाट देवल विमानस्थलसम्म मोटरेबल सडक नहुँदा कालोपत्रे गर्ने मेसिन र कच्चा पदार्थ विमानस्थलसम्म पुगाउन नसकिएको ठेकेदारको गुनासो छ । केही प्राविधिक कुराले कालेपत्रेको काम अगाडि बढ्न नसकेको हो । 

बझाङमात्र होइन, सुदूरपश्चिमका कुनै पनि पहाडी जिल्लामा नियमित हवाई सेवा हाल सञ्चालनमा छैन । त्यो परिक्षण उडान सरकारी नभई निजी क्षेत्रबाट भएको हो । उनीहरु विमानस्थल कालोपत्रे गरेपछि र हरेक प्राविधिक कुरा सबल भएपछि मात्र उडान थाल्ने कुरा गर्छन् । हामीले लगातार रुपमा यसबारेमा आवाज उठाइरहेकै छौं ।

 

प्रतिक्रिया दिनुहोस्