बलियो सरकार बरालियो : गगन



बनेपा : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा मंगलबार काभ्रेको नाला शेरामा आयोजित कार्यकर्ता भेलामा थापाले भने, ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षाअनुसार काम हुन सकेन ।’ 

नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । ‘न युवाले बाहिर काम गर्न जान पाएको छ न त देशमा नै बसेर काम गर्न पाएको छ’, उनले भने ।

 

नेता थापाले नियमअनुसार संसद्मा सांसदले प्रस्ट हुनलाई प्रश्न सोध्न पाउने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए । कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै थापाले भने, ‘प्रधानमन्त्री सदनमा कुरा राख्न आउने तर त्यसमा प्रश्न राख्न नदिने कस्तो खालको नीति हो ?’

प्रतिक्रिया दिनुहोस्