निःशुल्क काममा नजाँदा कुटिए दलित 



                                  न्याय माग्न सदरमुकाम आएका डिल्ली कामी (बीचमा) ।

 

कालिकोट : नरहरिनाथ गाउँपालिका–१ गणेशपुरका डिल्ली कामी स्थानीय चने बिष्ट र नरेन्द्र बिष्टको घरको दार बोक्न नजाँदा कुटिएका छन् । चने र नरेन्द्र दुवै मिलेर आफ्नो दार बोक्न नआएको भन्दै कुटपिट गरेको डिल्लीले बताए । 

कर्णालीका ग्रामीण क्षेत्रमा कसैको घर निर्माण गर्दा गाउँका सबैले निःशुल्क काम (गवारी) गरिदिने चलन छ । 

चने र उनका भाइ नरेन्द्रको कुटाइबाट डिल्लीको एउटा दाँत नै झरेको छ भने तीनवटा दाँत हल्लिएका छन् । टाउको र शरीरका केही भागमा पनि चोट लागेको छ । डिल्लीले आफूलाई कुटपिट गर्ने दुबैजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

न्यायका लागि जिल्ला सदरमुकाम आएका डिल्लीले भने, ‘मलाई गवारी नगरेकै कारण दलित भन्दै हेपेर कुटपिट भयो ।’ उनले अपमानजनक शब्दसहित दलित भन्दै कुटपिट गरेकाले दुवैमाथि हदैसम्मको कारबाही माग गरेका छन् । 

कालिकोटका दलित अधिकारीकर्मी तथा साझा आवाज परियोजनाका संयोजक बिर तिरुवाले विगतदेखि नै जिल्लामा दलित समुदायले विभिन्न खालका हिंसा खेप्दै आएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले डिल्लीले दिएको जाहेरीको आधारमा आइतबार नै मुद्दा दर्ता भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्