सशस्त्रमा पाँच डीआईजी रिक्त हुँदा १२ भाइको दौडधूप



काठमाडौँ : सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्नका लागि १२ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु दौडधूपमा लागेका छन् । बुधबारदेखि ५ डीआईजी रिक्त भएकोे छ । रिक्त ५ डीआईजीका लागि १२ एसएसपीहरु दौडमा रहेका हुन् ।

६ डीआईजी पद रहेको सशस्त्रमा एक पद विशेष भएको कारण स्वतः खारेजीमा परेपछि ५ पद मात्र रिक्त रहन पुगेको छ ।

डीआईजी रामप्रकाश श्रेष्ठको अवकाश भएको लामो समयसम्म पूर्ति हुन सकेको थिएन भने अर्का डीआईजी राजुराम सुवालको अवकाशपछि पनि डीआईजी पद रिक्त नै रहेको थियो । यस्तै गत ११ गते अर्का डीआईजी वसन्तकुमार बानिया ३० वर्षे सेवा अवधिका कारण अवकाश भएका थिए भने १६ गते बुधवारमात्रै डीआईजीहरू सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल पदावधिका कारण अवकाश भएका थिए ।जसका कारण ५ पद रिक्त हुन आएको थियो ।

एक वर्षे म्याद थप गर्नका लागि अनेक प्रयत्नहरू गरेपनि यी तीन जना डीआईजीहरु सफल भएनन् । अन्ततः उनीहरु अनिवार्य अवकाश पाएका छन् । अहिले यी ५ डीआईजी पदका लागि एसएसपीहरु दौडधूपमा लागेका छन् । यसरी दौडधूपमा लाग्ने एसएसपीहरुमा हरिशंकर बुढाथोकी, कृष्णभक्त बज्राचार्य, राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, वंशीधर दाहाल र किशोर प्रधान रहेका छन् । यस्तै अभिकुमार खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् । उनीहरुमध्ये कसले बाजी मार्ला हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्