भुक्तानी लिन भनेर निस्केका ठेकेदार बेपत्ता



धरान : धरानका निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि बेपत्ता भएका छन् । बिहान ८ बजे विराटनगर जान्छु भनेर हिँडेका उनी हालसम्म नफर्किएको परिवारले जनाएको छ । विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर उनी घरबाट गएका थिए । भट्टराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशङ्का परिवारजनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बुबा रमेश भट्टराईले जानकारी दिए । 

 

परिवारले ९ बजेतिर फोन गर्दा फोन सम्पर्क भएको थिएन । बाह्र बजेतिर छोराको मोबाइलबाट ‘अनुज मसँग छ, पछि कल गरौला बाई’ भनेर म्यासेज आएको बुबा रमेशले बताए । उनले धरान–भेडेटार सडकखण्डमा पर्ने निसाने पहिरोको मर्मत ठेक्का लिएका थियो । सडक डिभिजन कार्यालय विराटनगरमा ४० लाखको भुक्तानी लिन गएका थिए । 

उनी सोमबार कार्यालयमा नआएको सडक डिभिजन कार्यालयले जनाएको छ । प्रहरीले मोबाइल ट्रेस गर्दा पूर्वतिर लागेर काँकडभिट्टासम्म मोबाइल टावर देखिएको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुसार बिहान ८:३० बजे भानुचौकमा हिँड्दै गरेको अवस्थामा सिसी क्यामेराको फुटेजमा देखाएको बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्