
काठमाडौं : गङ्गा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गङ्गाको पानी बिग्रिँदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि ।
गङ्गा नदीमा ढल मिसिएका छन्, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि त्यसको पानीको प्रभावकारिता जस्ताको त्यस्तै छ ।
खासमा गङ्गाको पानी कहिल्यै नबिग्रिनुको कारण भाइरस हो ।
त्यसमा केही यस्ता भाइरस पाइन्छन् जसले पानीलाई कुहिन दिँदैनन् ।
चकित
करिब सवा सय वर्ष पहिलेको कुरा हो ।
सन् १८९० को दशकमा प्रसिद्ध ब्रिटिश वैज्ञानिक अर्नेष्ट ह्यान्किनले गङ्गा नदीको पानीबारे अनुसन्धान गरिरहेका थिए ।
त्यसबेला हैजाको महामारी फैलिएको थियो। मान्छेहरुले शव गङ्गा नदीमै फालिरहेका थिए।

गङ्गा नदीमा नुहाउने मानिसहरू पनि हैजाको शिकार होलान् भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन ।
ह्यान्किन आश्चर्यमा थिए किनकि युरोपमा दूषित पानी खाँदा मान्छेहरू बिरामी भएको उनले देखेका थिए ।
तर गङ्गा नदीको पानीको प्रभाव देखेर उनी चकित थिए ।
क्रान्ति
गङ्गा नदीको पानीमाथिको ह्यान्किनको अनुसन्धानलाई २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले अगाडि बढाए ।
ती वैज्ञानिकले थप अनुसन्धान गरेपछि गङ्गाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरियाभित्र छिरेर नष्ट गरिरहेको पत्ता लगाए ।
तिनै भाइरस गङ्गा नदीको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार थिए र त्यसैकारणले गङ्गा नदीमा नुहाउनेहरूमा हैजा फैलिरहेको थिएन ।
त्यसको अर्थ ब्याक्टेरियामाथि राज गर्ने यी भाइरसहरू मानिसका लागि निकै सहयोगी साबित हुन सक्छन् ।

ती भाइरसलाई आजकल निन्जा भाइरस भनेर चिनिन्छ अर्थात् ती भाइरस जसले ब्याक्टेरियालाई मारिदिन्छन् ।
आजभन्दा करिब १०० वर्ष पहिले चिकित्सा जगत्मा एन्टिबायोटिकका कारण एउटा क्रान्ति भएको थियो ।
नियन्त्रण
चोटपटक, घाउ वा कतिपय रोगका कारण मरिरहेका मानिसहरूका लागि एन्टिबायोटिक वरदान साबित भएको थियो ।
एन्टिबायोटिकको मद्दतले कैयौँ रोगमाथि नियन्त्रण गर्न सकियो ।
तर अहिले आएर कतिपय ब्याक्टेरियामाथि एन्टिबायोटिकले असर गर्न छाडिसकेको छ ।
विश्वमा सयौँ हजार मानिसले त्यस्ता ब्याक्टेरियाका कारण ज्यान गुमाउनुपरेको छ ।
सन् २०१४ को एउटा अध्ययन प्रतिवेदन अनुसार सन् २०५० सम्ममा एन्टिबायोटिकको असर यति कम भइसक्नेछ कि करिब एक करोड मानिस त्यस्ता ब्याक्टेरियाका कारण मृत्युको शिकार हुनेछन् ।
अहिले क्यान्सरका कारण त्यति सङ्ख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् ।
प्रकृति
यदि एन्टिबायोटिकको असर कम हुँदै गयो भने सामान्य चोटपटकबाट पनि मानिसहरूले ज्यान गुमाउन थाल्नेछन् जस्तो कि १८ औँ र १९ औँ शताब्दीमा हुने गर्दथ्यो ।
युद्धमा घाइते हुने धेरै मानिसको मृत्यु हुन थाल्नेछ ।
यस्तो अवस्थामा गङ्गा नदीमा पाइने भाइरसहरू काम लाग्न सक्छन्। त्यस्ता भाइरस प्रकृतिमा ठूलो सङ्ख्यामा पाइन्छन् ।

पृथ्वीमा जति मानव छन्, त्यति सङ्ख्यामा एक ग्राम माटोमा भाइरस पाइन्छन् ।
त्यसमध्ये कतिपय भाइरस यस्ता छन् जसले आक्रमण गरेर ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।
यस्ता भाइरसहरूको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरुले सबैखाले ब्याक्टेरियालाई चाहिँ निशाना बनाउँदैनन् ।
विकल्प
तिनीहरूले खास किसिमका ब्याक्टेरियामाथि मात्रै आक्रमण गर्छन् ।
यस्ता भाइरसहरू मान्छेलाई निकै उपयोगी साबित हुन सक्छन् । तिनीहरू एन्टिबायोटिकको विकल्प हुन सक्छन् ।
न्यूजिल्याण्डको म्यासी विश्वविद्यालयकी हिथर हेन्ड्रिक्शनले निन्जा भाइरसमाथि अनुसन्धान गरिरहेकी छन् ।
उनी भन्छिन्, एन्टिबायोटिकको प्रतिरोध गर्ने ब्याक्टेरियाको खतरा बढ्दै गएको छ। हामी एन्टिबायोटिक आउनुअघिको समयतर्फ फर्किँदैछौँ ।
हेन्ड्रिक्शन थप्छिन्, यदि यस्तो अवस्थाबाट हामी जोगिनुछ भने निन्जा भाइरसमाथिको कामलाई अगाडि बढाउनुपर्छ ।
प्रोटिन
आफ्ना विद्यार्थीहरूसँग मिलेर उनले ब्याक्टेरियालाई नष्ट पार्ने भाइरसहरूको सूची तयार पारिरहेकी छन् ।
यी भाइरस निकै साधारण हुन्छन् जो मात्र प्रोटिनबाट बनेका हुन्छन् ।

जब ती भाइरसहरूले ब्याक्टेरियामाथि आक्रमण गर्छन् तब तिनीहरुका डीएनए सखाप पारिदिन्छन् र आफ्नो सङ्ख्या बढाउन थाल्छन् ।
अन्ततः ब्याक्टेरियामा विस्फोट भएर तिनीहरुको अन्त्य हुन्छ । त्यस्ता भाइरसले ब्याक्टेरियाका खास नस्ललाई निशाना बनाउँछन् ।
जबकि एन्टिबायोटिक अणु बमजस्तै हो । त्यसले निशाना बनाउने ब्याक्टेरिया एन्टिबायोटिकबाटै मर्छन् ।
हाम्रो शरीरभित्र हुने केही राम्रा कीटाणु पनि एन्टिबायोटिकबाट मर्न पुग्छन् ।
नष्ट
तर निन्जा भाइरसले रोग फैलाउने ब्याक्टेरियालाई मात्रै नष्ट पार्नेछन् ।
उसो त पश्चिमा मुलुकमा त्यसमाथि भइरहेका अनुसन्धान नयाँ हुन् तर पूर्वी युरोपेली देशले लामो समयदेखि भाइरसको सहयोगले कतिपय रोगहरुको उपचार गर्दै आएका छन् ।
उनीहरुका अनुसन्धान अङ्ग्रेजीमा नछापिएकाले बाँकी दुनियाँलाई त्यसबारे थाहा हुनसकेको थिएन ।

हेन्ड्रिक्शन भन्छिन्, जर्जिया, रुस र पोल्याण्डमा वैज्ञानिकहरूले त्यस्ता भाइरसमाथि धेरै अनुसन्धान गरेका छन् जुन भाइरसले ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।
उनले पनि आफ्नो प्रयोगशालामा त्यस्ता भाइरसको सूची तयार पारिरहेकी छन्, जसले एन्टिबायोटिकको स्थान लिन सक्छन् ।
निको
पछिल्लो समय कैयौँ देशमा यस्ता पट्टीहरू तयार गरिएका छन् जसमा निन्जा भाइरस हालिएका हुन्छन्। ती भाइरसले घाउ पुर्न सघाइरहे वा नरहेको हेरिँदैछ ।
हेन्ड्रिक्शनका अनुसार पहाड चढ्ने क्रममा घुँडामा चोट लागेको अल्फ्रेड गर्टलर नाम गरेका एक व्यक्तिको घाउ कुनै पनि एन्टिबायोटिकले निको भइरहेको थिएन ।
उनको खुट्टा नै काट्नुपर्ने एक मात्र विकल्प रहेको बताइँदै थियो ।
त्यसपछि परीक्षण गर्ने हिसाबले उनको घाउमा निन्जा भाइरसको प्रयोग गरियो र १० दिनपछि घाउ निको भयो ।
अर्थात् अब ब्याक्टेरियालाई भाइरसले नष्ट पार्नेछन् । रोग निम्त्याउने ब्याक्टेरियाका लागि भाइरस यमदूतको सेना तयार हुँदैछन् । बीबीसी नेपाली सेवा