जाडाे छलेर गाउँगाउँमा भुवा नाच



बझाङ : ढाल तरवारसहित नाचिने भुवा पर्व सुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पुस औंसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्दछ । यस वर्ष पुषको औंसी पुस २२ गते परेको छ । 

 

जिल्लाका विभिन्न गाविसका ८० भन्दा बढी गाउँमा यो पर्व मनाउने गरिएको बताइन्छ । तर लामो समय देखि परेको खडेरीको मार थाम्नका लाथि पुरुषहरु गाँउ छोडेर गएकोले धेरै गाँउमा यो वर्ष भुवा पर्व प्रभावित भएको छ ।

 

'गाँउका प्राय: जसो पुरुषहरु गाउँबाट टाढा छन् । गाउँ उपलब्ध जनशक्तिले रमाइलै गरेर खेलिरहेका छाैं' कैलासका पत्रकार बसन्तप्रताप सिंहले भने । औंसीको दिन गाउँका प्रत्येक घरबाट राँको बाल्नका लागि मुढा माग्ने र राती भुवाखाडा -भुवा नाच्ने चौर) मा ठुलो आगो बालेर हातमा राँको सल्काइ भुवा नाचको सुरुवात गर्ने गरिन्छ । राँको नहालेर यसको सुरुवात भएको मानिदैन ।

 

बाजाको तालमा खुकुरी, तरवार र ढाल सहित पुरुषहरुले प्रर्दशन गरेको युद्धकला हेर्नका लागी केही गाँउहरुमा भने दर्शकहरुको भिडभाड भएको छ । भुवाको रौनकले महिला बालबालिका देखी बृद्धबृद्धा सबैलाइ तानेको छ । 

 

युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समुहले लयात्मक शैलीमा भट्याउने र अर्काे समुहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन । कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाँउमा घुमेको र त्यहाँ विकास निमार्णका काम गर्नका लागी स्थानियको सहभागीता जुटाएको र विभिन्न गाँउमा भूवा पर्वको आयोजना गरि युद्ध अभ्यास गराएको कथाहरु पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । भुवाको विशेष आकर्षणका रुपमा चाली नाच, ठाडो भस्सो भारी खेल जस्ता नाच र गायनहरु पर्दछन ।

प्रतिक्रिया दिनुहोस्