नेपाली सेनाले जिल्ला हेरफेर गर्दा प्रचण्डलाई हाइसन्चो



काठमाडौं : प्रदेशहरुको सिमांकन परिवर्तनको चर्चा भईरहेको बेला नेपाली सेनाले भने आफ्नै ढंगले प्रादेशिक स्तरको पृतना स्थापनासँगै पृतना कार्यालयले हेर्ने जिल्लाहरुको पनि हेराफेरी थालेको छ ।

देश संघीय प्रणालीमा गएसँगै प्रदेशहरुमुताविक ढाँचामा संरचना निर्माण गरेको नेपाली सेनाले पछिल्लो समय भने आफ्नै ढंगले संरचना परिवर्तन गर्न पुगेको छ । नेपाली सेनामा हाल ईटहरीमा पूर्वी, धनुषामा मध्यपूर्वी, हेटौडामा मध्य, काठमाडौमा उपत्यका, पोखरामा पश्चिम,बुटवलमा उत्तरपश्चिम, सुर्खेतमा मध्यपश्चिम र दिपायलमा सुदुरपश्चिम पृतना रहेका छन् । यद्यपी यी पृतनालाई प्रादेशिक स्वरुपमा ढालेको छैन ।

त्यसो त प्रदेश सिमांकनको विषयमा परिवर्तन वा संसोधनको चर्चाले राजनीति तताईरहेका बेला नेपाली सेनाको मध्य पृतनाले हेर्दै आएको सिन्धुपाल्चोक र काभ्रे जिल्लालाई धनुषामा रहेको मध्यपूर्वी पृतना अन्तरगत राखिएको छ भने बुटवलमा रहेको उत्तरपश्चिम पृतना अन्तरगत रहेका बाँके, बर्दियालाई सुर्खेतको मध्यपश्चिम पृतनाअन्तर्गत राखेको छ । प्रदेश नम्बर ५ मा रहेका बाँके, बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने बहस चलिरहँदा नेपाली सेनाले भने त्यसै अन्तरगत राखेको छ ।

त्यसैगरी धनुषाको मध्यपूर्वी पृतना अन्तरगत रहेका बारा र पर्सा अहिले हेटौडामा रहेको मध्यपृतनाले हेर्ने भएको छ ।

यता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रदेश २ का बारा र रौतहटलाई प्रदेश नम्बर ३ मा र प्रदेश नम्बर ३ का दोलखा, रामेछाप,र सिन्धुलीलाई प्रदेश २ मा गाभ्ने तथा बाँके, बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने प्रस्ताव गर्नु र नेपाली सेनाले त्यसैसँग मेल खाने गरी सांगठनिक संरचना तयार गरेपछि यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

देश संघीय संरचनामा गएपछि त्यसैअनुरुप नेपाली सेनाले पनि सांगठनिक संरचना बनाउँदै सातै प्रदेश र उपत्यका गरी आठ वटा पृतना बनाएको थियो । तर अहिले आन्तरिक प्राविधिक र ब्यवहारिक कठिनाई भन्दै सैनिक मुख्यालयले सांगठनिक संरचना पुरानै शैलीमा फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्