राष्ट्रसेवकको अधिकार कटौती भए कांग्रेस चुप लाग्दैन



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरद्वन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन कांग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन् ।

 

नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताएका छन् । उनले बीपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माया गर्ने स्वभावको भएकोले विगतमा कांग्र्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनुपर्ने बताए ।

 

प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा राष्ट्रसेवक कर्मचारीको भूमिका सराहनीय रहेको बताए । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनतालाई विश्वास दिलाउन नसकेका कारण पार्टी कमजोर भएको बताए ।

 

युनियन (संघ) प्रदेश १ का सभापति दीपेन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, संघका मोरङका अध्यक्ष चन्द्रप्रसाद कट्टेलले पनि बोलेका थिए । दुईदिने सो प्रशिक्षणमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका करिब ३०० संघसँग आबद्ध कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्