खुकुरीको धारमा कार्यकाल बिताएका आईजीपी खनालको रामकहानी



काठमाडौं : प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएपछि विभिन्न जिल्लामा प्रमुख बनेर जाँदा गरेको कामबाट सर्वेन्द्र खनाल त्यसबेलै भविष्यको प्रहरी महानिरीक्षक (आईजीपी) मा पुग्ने संकेत देखाएको उनलाई नजिकबाट नियाल्नेहरु बताउँछन् ।

काठमाडौं जिल्लाको प्रमुखमा सरुवा भएपनि झण्डै हाजिर हुन नपाएका खनाल चाहे नारायणी अञ्चलको प्रहरी प्रमुख हुँदा वा उपत्यका अपराध अनुसन्धानको प्रमुख हुँदा होस् काम गरेर देखाउँदै आफूलाई अब्बल दर्जाको अफिसरको रुपमा दर्ज भए । गुण्डा गर्दी र फिरौतीले आक्रान्त भएको नारायणी अञ्चलमा प्रहरी प्रमुख बनेर गएपछि खनालले गरेको अप्रेसनले शान्त बन्न पुगेको थियो । उपत्यका अपराध अनुसन्धानको प्रमुख बनेर आएपछि विभिन्न ईन्काउण्टर गरेर चर्चामा आएका खनालले फुटबलमा म्याच फिक्सिङको नयाँ रहस्य पत्ता लगाउँदै त्यसलाई पनि चर्चामा ल्याए ।

नेपाल प्रहरीभित्र ह्याण्डसम अफिसरका रुपमा परिचित खनाल तीन वर्ष अगाडी डीआईजीबाट सिधैँ आईजीपी हुन पुगे । आईजीपी नियुक्त हुनासाथ भद्रगोल संगठनलाई लयमा बाँध्नुपर्ने चुनौती पनि थियो । यो चुनौती काँधमा फूलीसँगै थापे, सर्वेन्द्र खनालले । एकातिर भद्रगोल संगठनलाई गति दिनुपर्ने, अर्कातिर समाजका हरेक पाटामा प्रहरीको छवि राम्रो बनाउनुपर्ने चुनौती थियो । यो चुनौतिसँगसँगै आईजीपी हुनासाथ आजै हट्छ भोली हट्छ भन्ने चर्चा र समाचारले उनलाई काम गर्न भन्दा कुर्ची जोगाउनमै ध्यान दिनुपर्ने विवशतामा पुर्यो ।

डीआईजी हुँदासम्मको कामबाट आईजीपी बनेपछि उनले धेरै काम गर्छन भन्ने संगठनभित्र र बाहिर पनि अपेक्षा थियो । तर त्यो अपेक्षाअनुसार उनले काम नगरेको संगठनभित्रै गुनासो सुनिन्छ । तर, यो कुरालाई आईजीपी खनाल स्वीकार्दैनन् । आईजीपी खनाल भन्छन् –‘मैले आफ्नो क्षमताले भ्याएसम्म राम्रै गरेको छु । जति गरेको छु राम्रै गरेको छु । नराम्रो गरेको छैन । कतिपय दिर्घकालीन सोच पनि अगाडी बढाएको छु यसले संगठनको गरिमालाई बढाउने काम गरेको छ ।’

प्रहरी मुख्यालयका कतिपय अधिकारीहरु आईजीपी खनालले धेरै काम गर्ने क्षमता भएपनि वातावरण अनुकुल नभएकोले गर्न नसकेको बताउँछन् । त्यसो त उनी नियुक्त भएदेखि नै उनलाई हटाउने चर्चा शुरु भएको थियो । यसले पनि उनको कामको गतिलाई अवरुद्ध पार्ने काम गर्यो । एक हिसाबले उनी खुकुरीको धारमै बसेर आफ्नो कार्यकाल बिताउँदैछन् । आईजीपी बन्न प्रतिस्पर्धामा रहेका एआईजी पुष्कर कार्की र उनी मिल्ने साथी भएपनि पछिल्ला दिनहरुमा उनीहरुबीच सम्बन्ध सुमधुर रहन सकेन । कार्कीले खनाललाई हटाएर आफू आईजीपी बन्ने कसरत नियमित गरिररहेको चर्चा बजारमा आईरह्यो ।

त्यस्तै खनालको गृहमन्त्रीहरुसँग पनि राम्रो सम्बन्ध स्थापित हुन सकेन । एकातर्फ आफ्ना ब्याजी रहेका एआईजीहरुबाट राम्रो सहयोग प्राप्त गर्न नसकेका आईजीपी खनालको अर्कातर्फ गृहमन्त्रीहरुसँग सम्बन्ध राम्रो नहुँदा अपेक्षाअनुसार काम हुन सकेन । कन्चनपुरमा भएको निर्मला बलात्कार हत्याकाण्डले सरकारको साखमाथि समेत प्रश्न चिन्ह उठाउन पुग्यो । यसको अनुसन्धानमा प्रहरी चुक्दा आईजीपी खनालमाथि समेत नैतिक प्रश्न उठ्न पुग्यो । यसले तिको कुर्ची नै हल्लाईदियो । यो काण्डमा संलग्नलाई कारबाही गरेर देखाउने चुनौति अहिले पनि उनका सामु जीवितै छ । यदि जाँदाजाँदै यो हत्याकाण्डको पर्दाफाँस गरेर अपराधीलाई कानुनको दायराभित्र ल्याउन सके उनको ठूलो सफलतासँगै जाँदाजाँदै हाईहाई हुने देखिन्छ ।

आन्तरिक रुपमा सुधार ल्याउन खोजेका आईजीपी खनालले संगठनको छवीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा राम्ररी चिनाउन सफल देखिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणका उत्कृष्ट सुरक्षा व्यवस्था मिलाएर राष्ट्रपति सीबाट प्रशंसा समेत नेपाल प्रहरीले पाएको थियो । १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा समेत नेपाल प्रहरीको सुरक्षा व्यवस्थाको प्रशंसा गरिएको छ । नेपाल प्रहरीका पछिल्लो समय अपराधको दायरा बढी चुनौतीपूर्ण बन्दै गएको छ । आजको चुनौतीपूर्ण र विश्वव्यापी आपराधिक परिदृश्यमा परम्परागत पुलिस विधि नागरिकको सुरक्षाका लागि अप्रयाप्त भइसकेको सन्दर्भमा आईजीपी खनालले खेलेको भूमिकालाई नराम्रो भन्न सकिदैन ।

अन्तर्राष्ट्रिय पुलिस संगठन (इन्टरपोल) ले पनि फरार अभियुक्तहरूलाई कानुनको दायरामा ल्याउने सवालमा खासै प्रभावकारी भूमिका खेलिरहेको छैन । प्रविधिको विकाससँगै मानिसहरुको आवतजावतका कारण साइबर अपराध, मानव बेचबिखन जस्ता गतिविधि नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको छ ।

यही कुरालाई मध्यनजर गर्दै विशेषगरी साइबर अपराध र मानव वेचबिखन सम्बन्धी अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले भर्खरै साइबर अपराध अनुसन्धान व्यूरो र मावन वेचविखन अनुसन्धान व्यूरोको स्थापना भएसँगै व्यूरोहरुले अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा फरार अपराधीहरुलाई विश्वव्यापी रुपमा ट्रयाक गर्ने काम गरिरहेको छ ।

विश्वव्यापी रुपमा फरार अपराधीहरुको नियन्त्रण र नेपालको अनुसन्धानलाई विश्वव्यापीकरण गर्न काठमाडौंमा रहेका इन्टरपोल नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) महत्वपूर्ण संगठनको रुपमा रहेको छ ।

आईजीपी खनालको सकृयतामा फरार अभियुक्तहरुको तथ्याङ्कसँगको पहुँच साथै कुनै पनि फरार अभियुक्तको छिटो पहिचानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इमिग्रेशन सेन्टर, काउन्टर टेरोरिजम इकाईसँगको प्रभावकारी समन्वयका आगि नेशनल सेन्ट्रल व्यूरो एनसिबीले ग्लोबल इन्टरपोल आई–२४र७ सँगको सम्बन्ध विस्तार भएको छ ।

आईजीपी खनालकै सकृयतामा गत वर्ष इन्टरपोलको आफ्नो क्षमता र नेशनल सेन्ट्रल व्यूरो (एनसिबी)को सहकार्यमा सुन तस्कर, वन्यजन्तुको हत्या, बलात्कार मानव बेचविखन ठगी जस्ता अपराधहरुमा फरार १० जना खुङ्खार फरार अभियुक्त पक्राउ गर्न सफल भएको थियो । त्यसले देशको सुरक्षामा मात्र नभई नेपाल प्रहरीको इज्जत समेत राष्ट्रिय स्तरमा बढेको छ ।

यस्तै नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) बैंङकक र मानव बेचविखन अनुसन्धान व्यूरोले २०१५ देखि क्षेत्रीय रुपमा मानव बेचविखनको सञ्जालका प्रमुख तथा चन्दा असुलीमा फरार परशुराम गुरुङलाई पक्राउ गरेको थियो । यसैगरी सांगठनिक रुपमा नै अपराध नेटवर्कका नाइके सुन तस्कर बेनु श्रेष्ठलाई यूएईबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनी अपहरण, हत्या ठगीको मुद्दामा समेत खोजी भइरहेका फरार अभियुक्त थिए । उनीमाथि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । यस्तो घटनामा मुछिएकालाई पक्राउ गर्दा यसमा नेपाल प्रहरीको भूमिकाले नेपाल प्रहरीको नेतृत्वको नेतृत्वदायी भूमिका अब्बल सावित बनेको छ ।

यस्तै समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम खनालको ड्रिम थियो । अहिले समुदायका हरेक नागरिकसम्म प्रहरीको पहुँच सरल बन्यो । ७५ हजार ९ सय २७ जना रहेको प्रहरी संख्यामा दैनिकजसो कार्यरतचाहिँ ६४ हजार तीन सय २३ जना छन् । संयुक्त राष्ट्र संघको मापदण्डका आधारमा एक प्रहरी बराबर ३ सय ३३ जना लाभान्वित हुनुपर्छ । तर नेपाल प्रहरीको संख्याको आधारमा ४ सय ३५ जना पर्न जान्छन् । यस्तो अवस्थामा पनि प्रहरीको कार्यप्रगति अन्य सरकारी निकायको तुलनामा उच्चतम छ ।

यसमा समुदाय–प्रहरी साझेदारीको भिजनले ठूलो मद्दत गरेको छ । ७ सय ५३ स्थानीय तहका सरकारसँग सम्झौता गरेरै यो कार्यक्रम अघि बढिरहेको छ । प्राज्ञिक विज्ञताको उपयोग, अध्ययन अनुसन्धान र पाठ्यक्रम विकास, स्रोत व्यक्ति तथा स्वयंसेवकसम्म प्रहरी, सुरक्षा सचेतना, सूचना प्रविधिको विकासलगायतका रोडम्यापकै आधारमा प्रहरी अगाडि बढेको छ ।

जे होस आईजीपी खनाल आफ्नो तीनवर्षे कार्यकाल विवादरहित ढंगले बिताएर आउदो माघ २८ गतेदेखि अवकाश पाउँदैछन् । आईजीपी हुँदा हाई हाई र बिदाई हुँदै गर्दा बाई बाई गर्ने चलन प्रहरी संगठनभित्र चल्दै आएको परम्परा हो ।

प्रतिक्रिया दिनुहोस्