जनकपुरका मेयरसँग वडाध्यक्ष रुष्ट, नगरपालिकामा तालाबन्दीको तयारी



जनकपुरधाम : विकाश निर्माणको काममा नगर प्रमुखले सहयोग नगरेको भन्दै जनकपुर ४ का वडाध्यक्ष सुदर्शन सिंहले असन्तुष्टि जनाएका छन् । पटक पटक नगर प्रमुखलाई भेटेर काममा सहयोग गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै मंगलबार उनले उपमहानगरपालिका कार्यालयमा तालाबन्दीको तयारी गरेका थिए । तर धनुषाका प्रमुख जिल्ला अधिकारीको आग्रहमा केही समय पर्खिएको उनले बताएका छन् । 

सडक मर्मतका लागि डोजर माग गरेको हप्तौँ भइसक्दा समेत उपलब्ध नगराइएपछि आफूले उपमहानगर कार्यालयमा तालाबन्दी गर्नुको विकल्प नदेखेको सिंहले बताए । यद्यपि, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले समस्या समाधानमा पहल गर्ने आश्वासन दिएकाले बुधबारसम्म पर्खिने उनले बताए । 

भोलि बुधवार सम्म मागको सुनुवाइ नभए नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने तयारी सिंहको छ । सिंहले गर्न लागेको यो कार्यमा अन्य १५ वडा अध्यक्षको पनि साथ रहेको बताइएको छ ।

पछिल्ला दिनमा जनकपुर उपमहानगरपालिका प्रमुख लालकिसोर साह र वडा अध्यक्षहरुबीच असहमति बढ्दै गएको छ । केही दिन पहिले १६ वटा वडाका अध्यक्षले बोर्ड बैठकसमेत बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्