गुरुत्वाकर्षणको नाम फेरेर ‘नरेन्द्र मोदी तरङ्ग’ राख्न प्रस्ताव !



काठमाडौं: केही भारतीय वैज्ञानिकले प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइनद्वारा प्रतिपादित सिद्धान्तको खण्डन गर्दै तिनले विज्ञान नै नबुझेको दाबी गरेका छन् । धेरैलाई आश्चर्यचकित पार्नेगरी एक जनाले त भारतका प्रधानमन्त्रीको सम्मानमा ग्र्याभिटेशनल वेभ्स (गुरुत्वाकर्षणका तरङ्ग)को नाम फेरेर 'नरेन्द्र मोदी वेभ्स' राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

 

भारतमा आयोजित इन्डियन साइन्स कङ्ग्रेसमा सहभागी भएका केही विद्वान्‌हरूले यीबाहेक अन्य अपत्यारिला र अवैज्ञानिक दाबी गरेपछि तिनको वैज्ञानिक समुदायबाट आलोचना भएको छ । महाभारतमा उल्लिखित गान्धारी र धृतराष्ट्रका सय भाइ छोराको प्रसङ्ग उल्लेख गर्दै केहीले प्राचीन कालमा नै स्टेम सेल र टेस्ट ट्युब बेबीसम्बन्धी अनुसन्धान र काम भएको दाबी गरेका थिए ।

 

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

प्रत्येक वर्ष हुने सो वैज्ञानिक सम्मेलनमा हिन्दूधर्म र पुराणसँग जोडिएका विषयहरूले स्थान पाउन थालेका छन् दक्षिण भारतको तामिलनाडुस्थित एउटा विश्वविद्यालयबाट आएका एक वैज्ञानिकले सो सम्मेलनमा प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइन दुवै जना गलत भएको दाबी गरेका थिए।

 

डा केजी कृष्णन नाम गरेका ती वैज्ञानिकले न्युटनले 'गुरुत्वाकर्षणको विकर्षणको बल' नबुझेको र आइन्स्टाइनका सिद्धान्तहरू भ्रामक भएको दाबी गरेको बताइएको छ। उनले गुरुत्वाकर्षणका तरङ्गको नाम फेरेर 'नरेन्द्र मोदी वेभ्स ' राखिनुपर्ने तर्क गरेका थिए। यस वर्ष आयोजित १०६ औँ इन्डियन साइन्स कङ्ग्रेसमा गरिएका टिप्पणीहरू भने अतिहास्यास्पद भएको विज्ञहरूले बताएका छन् । जालन्धरमा ज्यानुअरी ३ देखि ७ सम्म आयोजित सो सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

'महाभारतमा टेस्ट ट्युब बेबी'

आन्ध्र विश्वविद्यालयका उपकुलपति जी नागेश्वर रावले एउटा ग्रन्थलाई आधार मान्दै भारतमा हजारौँ वर्षअघि नै स्टेम सेल रिसर्चको आविष्कार भएको बताएका थिए । प्राचीन महाकाव्य रामायणमा खलपात्रका रूपमा चित्रित रावणको स्वामित्वमा २४ प्रकारका विमान र विमानस्थलहरूको सञ्जाल रहेको उनको दाबी थियो । प्राचीन ग्रन्थहरूको अध्ययन गर्नुपर्ने तर तिनमा पूरै विज्ञान भएको तर्क गर्नु मूर्खता हुने विश्लेषकहरूको तर्क छ ।

 

इन्डियन साइन्टिफिक कङ्ग्रेस असोसिएशनले सम्मेलनमा गरिएका टिप्पणीहरूप्रति गम्भीर चासो व्यक्त गरेको छ ।  सो संस्थाका महासचिव प्रेमेन्दु पी माथुरले समाचारसंस्था एएफपीलाई भने, "हामी उनीहरूको धारणासँग सहमत छैनौँ र हामी उनीहरूको प्रतिक्रियाबाट टाढै बस्छौँ। यो दुर्भाग्यपूर्ण हो।"उनले जिम्मेवार व्यक्तिहरूबाट त्यस्तो प्रकारको कुरा गरिनु गम्भीर चासोको विषय भएको बताएका छन्।

 

धर्म, विज्ञान र राजनीति

भारतमा विज्ञान, धर्म र पौराणिक आख्यानलाई मिसाउने प्रचलन व्याप्त छ। बीबीसीका सौतिक विश्वासका अनुसार राष्ट्रवादी छवि बनाउन खोजेका नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ भाजपाले मिथ र विज्ञान मिसिएको स्युडोसाइन्सलाई मूलधारमा ल्याइदिएको धेरैको विश्वास छ।

 

हजारौँ वर्षअघि भारतमा कस्मेटिक शल्यचिकित्सा अस्तित्वमा रहेको दाबी केही वर्षअघि मोदी स्वयंले गरेका थिए । उनको दलका नेता र मन्त्रीहरूले पनि त्यस्तै दाबी गर्ने गरेका छन् ।

 

सन् २०१७ मा भारतका कनिष्ठ शिक्षामन्त्री सत्यपाल सिंहले प्राचीन महाकाव्य रामायणमा विमानबारे पहिलो चोटि उल्लेख गरिएको दाबी गरेका थिए। उनका अनुसार राइट दाजुभाइले भन्दा आठ वर्षअगाडि नै भारतका शिवकर बापूजी तलपदेले पहिलो आधुनिक विमान बनाएका थिए ।

सोही वर्ष पश्चिम भारतीय राज्य राजस्थानका शिक्षामन्त्रीले सास फेर्दा अक्सिजन लिन र फ्याँक्न समर्थ केवल एउटा प्राणी गाई भएको दाबी गर्दै गाईको वैज्ञानिक महत्त्वबारे जान्न आवश्यक भएको बताएका थिए ।

 

सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईस्थित एउटा अस्पतालका कर्मचारीलाई सम्बोधन गर्दै मानवको शरीरमा हात्तीको टाउको जोडिएर बनेका भगवान् गणेश प्राचीन भारतमा कस्मेटिक सर्जरी अभ्यास गरिने प्रमाण भएको आशय व्यक्त गरेका थिए ।

 

आइतवार इन्डियन साइन्स कङ्ग्रेसमा आइतवार एउटा शोधपत्र प्रस्तुत गरेका भूगर्भशास्त्री आशु खोसलाले भगवान् ब्रह्माले डाइनोसर पत्ता लगाएका र प्राचीन धर्मग्रन्थमा तिनको उल्लेख भएको बताएका छन् । हिन्दूवादी दल भारतीय जनता पार्टीका नेता रमेश पोखरियाल 'निशङ्क'ले सन् २०१४ ले ज्योतिषशास्त्रका अगाडि आधुनिक विज्ञान फुच्चे भएको टिप्पणी गरेका थिए । उनले भारतमा एक लाख वर्षभन्दा पहिला नै पारमाणविक परीक्षण गरिएको दाबी गरेका थिए । बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्