दूरसञ्चार प्राधिकरणद्वारा सर्वोच्चमा भ्याकेट



काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतले सिजी कम्युनिकेसन (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालन अनुमति दिन गरेको अन्तरिम आदेश खारेजीको माग गर्दैै भ्याकेट निवेदन दर्ता गराएको छ । 

दूरसञ्चार प्राधिकरणको तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम भण्डारीले सिजी कम्युनिकेसनलाई विपक्षी बनाउँदै निवेदन दर्ता गरेका हुन् । 

सिजी कम्युनिकेसनको पक्षमा अदालतले  एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश दिएको तथा आफ्नो कुरा प्रस्तुत गर्ने मौका नपाएको भन्दै प्राधिकरणले गत १० पुसमा भएको अन्तरिम आदेश रद्द गर्न माग गरेको हो । 

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले विपक्षीका तर्फबाट कानुन व्यवसायीलाई बहस गर्ने मौका नदिई एकपक्षीय सुनुवाइबाट सिजी टेलिकमको पक्षमा अन्तरिम आदेश जारी गरेको दूरसञ्चार प्राधिकरणको जिकिर छ । दोस्रो पक्षलाई सुनुवाइको मौका नदिई एकपक्षीय सुुनुवाइ भएमा भ्याकेट निवेदन दिन पाइने कानुनी व्यवस्था छ ।

के छ काननी व्यवस्था ?

सर्वोच्च अदालतको नियमावली ०४९ को नियम ४१ को १ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड ३ मा एकपक्षीय सुनुवाइ भएमा, एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएमा वा कुनै कारणले अर्को पक्षले आफ्नो कुरा प्रस्तुत गर्ने मौका नपाएमा त्यस्तो अन्तरिम आदेश रद्द गर्ने निवेदन दिन पाउने व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्