आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा



काठमाडौं: नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ। निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टीतेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ

 

उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो। १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो।  आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ

 

आइओसीले १५ कात्तिकमा पेट्रोल ६७ रुपैयाँ ९३ पैसा प्रतिलिटरमा निगमलाई बिक्री गरेको थियो। त्यसको दुई महिनापछि १७ कात्तिकमा पेट्रोल प्रतिलिटर २१.७४ रुपैयाँ घटाएर ४६.१८ रुपैयाँमा दिएको छ। डिजेल ७२.८० रुपैयाँबाट १८ रुपैयाँ घटाई ५४.७५ रुपैयाँ प्रतिलिरटमा दिएको छ। मट्टीतेल प्रतिलिटर ७७.१२ रुपैयाँबाट १९.८४ घटाई ५७.२८ रुपैयाँमा दिएको छ। तर, निगमले यसबीचमा नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा तीनपटक गरी ६–६ रुपैयाँ मात्र घटाएको नयाँपत्रिकामा खवर छ

 

निगमको दाबी : अझै एक अर्ब नोक्सान

आयल निगमले चर्को मुनाफा राखेर इन्धन बिक्री गरिरहे पनि चालू आर्थिक वर्ष ०७५/७६ को हालसम्म १ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नोक्सान रहेको जनाएको छ। यो नोक्सान रकम आगामी १५ दिनसम्म आर्जन गर्ने १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ घटाएर हो। निगम प्रवक्ता वीरेन्द्र गोइतले दसैँ–तिहारमा भाउ बढ्दा नेपाली बजारमा समायोजन नगर्दा भएको घाटा अहिले पूर्ति भइरहेको बताए।  

प्रतिक्रिया दिनुहोस्