भिक्टोरी म्याराथन एण्ड यूनिटी रन प्रतियोगिता सम्पन्न



काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाली सेनाको मध्य पश्चिम पृतना हे.क्वा. बुटवलको संयोजकत्वमा शनिबार भिक्टोरी म्याराथोन र यूनिटी रन सम्पन्न भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा ४२ किमि फुल म्याराथोन, २१ किमि हाफ् म्याराथोन, १० किमि दौड र ५ किमि वाकाथन गरि जम्मा ४ विधाहरूमा दौड सम्पन्न भएको हो ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, पत्रकारहरू लगायत खेलप्रेमीहरु सहित करिब ३ हजार ५ सय जनाको सहभागीता रहेको उक्त कार्यक्रमको अन्त्यमा नेपाली सेना र स्थानीय बासिन्दाहरूको सहकार्यमा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो ।

उक्त माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले विभिन्न विधाका दौडहरुमा विजयी खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गर्दै बधाई ज्ञापन गरे । उनले यस्ता कार्यक्रमहरुबाट ऐतिहासिक सम्पदाको रुपमा रहेका स्थानहरुको संरक्षण एवंसम्वर्द्धन गर्ने कार्यमा स्थानीय जनसमुदायहरुलाई प्रोत्साहान गर्न, राष्ट्रिय एकताको भावना जगाउन तथा आन्तरिक पर्यटनको विकासमा सहयोग गर्न अति महत्वपूर्ण भुमिका रहने बताए ।

नेपाली सेनाको मध्यपशिचम पृतना हेडक्वाटर बुटवलको संयोजकत्वमा भएको प्रतियोगितामा ४१ शदमलव १९५ किलोमिटर दौडमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम, राजय रोकाया द्धितीय र कल्याण बानियाँ तृतीय भएका छन् ।

महिलातर्फको ४२ दशमलव १९५ किलोमिटर दौडमा कान्छीमाया कोजु प्रथम, नेपाली सेनाका सरिता बासी द्धितीय र सशस्त्र प्रहरी बलका कृष्णेश्वरी सिन्तकला तृतीय भएकी छन् ।

पुरुष र महिला तर्फ बिजेतालाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।
२१ किलोमिटर पुरुष दौडमा नेपाली सेनाका गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतीय भएका छन् भने महिला तर्फ पनि सेनाकै विश्वरुपा बुढा प्रथम, पूर्णलक्ष्मी न्यौपाने द्धितीय र नेपाल प्रहरीकी रेखा बिष्ट तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन् । बिजेताले क्रमशः ५० हजार , १५ हजार र १० हजार रुपैया पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ १० किलोमिटर दौड तर्फ नेपाली सेनाका शिवमाया रायमाझी प्रथम, श्रीप्रकाश राई द्धितीय र गणेशसिंह ठकुरीले तृतीय स्थान प्राप्त गरे । यस्तै महिला तर्फ नेपाली सेनाकै सानुमाया कार्की प्रथम, सीता सेन द्धितीय र सीता चौधरी तृतीय भइन ।

उनीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले आयोजना गर्ने यस प्रकारको राष्ट्रिय स्तरको प्रतियोगिताबाट आम जनमानसमा देशभक्तिको भावनामा वृद्धि भई नेपाल एकिकरणको दौरान वीर पुर्खाहरुले पु्र्याएको अतुलनीय योगदानको उजागर हुन जाने देखिनुका साथै ऐतिहासिक सम्पदाको रुपमा रहेको गढीहरुको संरक्षण एवं सम्वर्धन तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रममा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्