बालुवाटारबाट निस्केकी ‘सेलिब्रेटी’ आनी एकाएक किन भइन् गुमनाम ?



काठमाडौं : आफ्नो आमाको वैवाहिक जीवनमा देखेको दुःखले गर्दा विवाह गर्नु सबैभन्दा गलत काम हो भन्ने धारणासँगै आनी बन्न पुगेको बताउने आनी छोइङ डोल्मा केही समय चर्चाको शिखरमै रहिन् ।

‘फूलको आँखामा फूलै संसार’ बाट प्रख्याति कमाउँदै उनी चर्चामा पुगिन् । यो गीतले उनलाई आम जनमानसबीच ‘सेलिब्रेटि’ बनायो । त्यसपछि उनलाई नचिन्ने निकै कम मान्छे भए । यसरी चर्चामा आएपछि उनी समाजसेवामा पनि लाग्न पुगिन् । एकाएक ‘सेलिब्रेटि’ बनेकी आनी छोइङ केही समय यता भने गुमनाम जस्तै बनेकी छन् । आखिर किन न त ?

विगतमा स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएपछि अनुसन्धान शुरु भएसँगै उनी गुमनाम हुन पुगेकी छन् । तर, उनी आफू गुमनाम नभएको बताउछिन् । भन्छिन्–‘म गुमनाम छैन । विभिन्न सामाजिक काममा व्यस्त छु । स्वदेश–विदेश घुमिरहेकी छु ।’

स्रोत नखुलाइएको रकमका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइकाले छानबिन शुरु गरेपछि उनी विवादमा तानिएकी थिइन् । उक्त छानबिन कहाँ पुग्यो ? यस विषयमा विभागका अधिकारीहरु छानबिन भइरहेको बताउँछन् । तर, त्यसपछि आनी छोइङ भने सार्वजनिक ठाउँहरुमा विरलै देखिन्छिन् । प्रायजसो चर्चामा रहने आनी अहिले उनी कहाँ छिन्, के गर्दै छिन्, कुन अवस्थामा छन्, प्रायः कसैलाई थाहाँ छैन । अर्थात न त समाजसेवामार्फत सार्वजनिक रुपमै चर्चामा छन्, न त साङ्गीतिक क्षेत्रमै ।

गुमनाम आनी छोइङ, प्रधानमन्त्री र आनीको ‘कनेक्सन’ 

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारी समेत नदिई उनले करिब २० करोड रुपैयाँ नेपाल भित्र्याएकी थिइन् । पछि फेरी १८ करोड रकम नेपाल भित्र्याउन खोजेपछि राष्ट्र बैंकले रोकेको थियो । आनीको बैंक खातामा तीन पटक रोक्का समेत भएको राष्ट्र बैंकले जनाइसकेको छ । अनुसन्धान हुने क्रममा रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी थिइन् । विदेशबाट नेपाल रकम भित्र्याउँदा अनुमति लिनुपर्ने निकायलाई जानकारी नदिई आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेका थिए ।

यसैगरी बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका आनीले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरुलाई पढाउँछिन् । बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए । यससँगै आनीको सांगीतिक आकाशमा प्रवेश गरेको बताउँछिन् ।

विभिन्न समाजिक कार्यमा पनि संलग्न आनी एकाएक चर्चा बाहिर रहँदै गुमनाम जस्तै बनेपछि कतिपय उनका सुभेच्छुकहरुले चिन्ता र चासो प्रकट गरेका छन् ।

आनीमाथि लगाइएको आरोप सत्य हो वा झुठो हो तत्काल किनारा लाग्नु पर्ने कतिपयको ठम्याइ छ ।

यता २०६२–०६३ को जनआन्दोलनपछि बनेको सरकारको शक्तिशालि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला धेरै तनावमा हुँदा गायिक आनी छोइङलाई बोलाएर गीत सुन्थे । एक जना राष्ट्रिय व्यवसायीमार्फत आनीको प्रधानमन्त्री कोइरालासँग चिनजान भएको थियो । त्यसपछि आनी शक्ति केन्द्रसँग निकट हुँदै गइन् ।

लुम्बिनी विकास कोषको सदस्य समेत रहिसकेकी आनी त्यसयता सबै प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटको सम्बन्ध राख्दै आएकी थिइन् । पछिल्ला दिनहरुमा किड्नी फाउण्डेशनलगायतका सामाजिक संघसंस्थाहरुमार्फत समाज सेवामा समेत संलग्न थिइन् । प्रधानमन्त्री ओली र सचिवालयसँग पनि आनी निकै नजिक छिन् ।

आनीले आफ्नो रकम रोकिएको दुई महिनापछि २०७५ साउनमा प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले तुइन विस्थापनको कार्यक्रम घोषणा गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारित हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई आनीले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओली र सचिवालयसँग आनी नजिक भएकी थिइन् ।

बालुवाटार स्रोतका अनुसार राष्ट्र बैंकले खाता रोक्का गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आनी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । तर, त्यस विषयमा भने न प्रधानमन्त्री निवासबाट कुनै विषय बाहिर आयो न त आनीबाटै । आखिर दुईबीच के कुरा भएको थियो त्यो अझैसम्म रहस्यमै छ ।

कतिपयको बुझाइमा, आनीले प्रधानमन्त्री ओलीसँग भेटेपछि उनी एकाएक गुमनाम भएकी थिइन् । त्यसपछि आनी सार्वजनिक रुपमा कतै देखा परेकी छैनन् ।

कहाँ छिन् आनी छोइङ डोल्मा ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि एकाएक गुमनाम भएको आनी छोइङ डोल्मा आफू काठमाडौंमै रहेको बताउँछिन् ।

द नेपालटपसँगको फोन सम्पर्क आनीले आफू काठमाडौं रहेको र आफ्नै काममा व्यस्त रहेको बताइन् । ‘मेरो विभिन्न कामहरु हुन्छन् र म त्यसमै व्यस्त हुन्छु ।’ उनले द नेपाल टपसँग भनिन् –‘ट्राभल्स, कन्सलटेन्सी गीत रेकर्ड लगायतका कामका साथै तारा स्कुलका अनाथ बालबालिकालाई पनि बढाउदै छु । यिनै काममा व्यस्त छु ।’

हङकङबाट नाम नखुलेको सम्पत्तीबारे भइरहेको अनुसन्धानबारे सोध्दा आनी भन्छिन्, ‘यसबारे कानुनी रुपमा काम भइरहेको छ । मेरो वकिलले यस विषयलाई हेर्दै हुनुहुन्छ । र उहाँकै अनुसार काम भइरहेको छ ।’ साथै उनले आयस्रोत नखुलेको भन्ने कुरा झुठो भएको बताइन् । उनले हङकङबाट ल्याएको सम्पत्तिको आयस्रोत पैसा आउनु अगाडी स्वीकृती लिनुपर्नेमा समस्या देखिएको हो ।

प्रधानमन्त्रीलाई तुइन विस्थापन कार्यक्रमका लागि एक करोड सहयोग गरेपछि आनी छोइङ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । त्यसपछि उनी प्रायः सार्वजनिक कार्यक्रममा खासै देखिदैनन् ।

प्रतिक्रिया दिनुहोस्