त्रिपक्षीय चेपुवामा यसरी पर्‍यो सभामुखको कुर्सी



काठमाडौं : प्रतिनिधि सभाको रिक्त सभामुख पदमा कसलाई अघि सार्ने भन्ने विषय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै झन् झन् बल्झिन पुगेको छ । यसै कारणले अहिलेसम्म यो विषयले निकास पाउन नसकी रहँदा एक महिनादेखि प्रभिनिधिसभा अनिर्णयको बन्दी बनाएको भन्दै नेकपाको आलोचना पनि भएको छ ।

सभामुख चयनमा शितल निवासदेखि बालुवाटार हुँदै खुमलटारसम्मको त्रिपक्षीय शक्ति संघर्षका कारण नेकपाले निर्णय गर्न नसकेको कतिपयको बुझाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टाछुट्टै पात्र अघि सारेपछि नेकपालाई निर्णय गर्न सकस परेको हो ।

राष्ट्रपति भण्डारीले उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाम्फेलाई अघि सारेको बताइन्छ भने प्रधानमन्त्री ओलीले उपसभामुख सुभाषचन्द नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

त्यस्तै पार्टी अध्यक्ष प्रचण्डले नेता अग्नी सापकोटा र विकल्पमा पम्फा भुषाललाई अघि बढाएको छ । भुषाललाई सभामुख बनाउन पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि दवाव छ ।

संविधान अनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसदको प्रतिनिधिसभा बैठक आज (आइतबार) जसरी पनि अगाडी बढाउने बताएकी उपभामुख डा. तुम्बाहाम्फेले अन्ततः आफैले पुनः सूचना जारी गर्दै बैठक स्थगित गरेकी छन् ।

उपसभामुख तुम्बाहाम्फेले यस अघि पनि सूचना जारी गर्दै बैठक स्थगित गर्दै आएकी छन् । गत ४ पुसदेखी शुरु भएको हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११ र १६ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आज बस्ने बैठक समेत सूचना टाँसेरै स्थगित गरिएको छ ।

रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया अगाडी बढाउन नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिए पनि उनले अटेर गर्दै आएकी छन् । नेकपाबाटै उपसभामुख भएकी तुम्बाहाम्फेलाई पटक–पटक राजीनामा दिन निर्देशन दिए पनि उनले दिन मानेकी छैनन् । उल्टै उनले आफूलाई सभामुख बनाउने निर्णय नगरे राजीनामा नदिने धम्की समेत दिँदै आएकी छन् ।

तुम्बाहाम्फेको यो अडानपछि नेकपा अप्ठेरोमा परेको छ भने त्यसले पार्टी पंक्तिमा नयाँ तरंग उत्पन्न गरेको छ । कतिपयले तुम्बाहाम्फेले यसरी पार्टी नेतृत्वको निर्देशन अवज्ञा गर्ने हिम्मत आफूमात्रैले नगरेको बताउँछन् ।

शनिबार बसेको सचिवालय बैठकले रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया अगाडी बढाउन उपसभामुखलाई राजीनामा दिन निर्णय गर्दै निर्देशन दिएको थियो । त्यसअघि शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।

तर, उपसभामुख तुम्बाहाम्फेले रिक्त सभामुख पदमा आफ्नो दावेदारी प्रस्तुत गर्दै पार्टीले उम्मेदवार चयन गरेपछि मात्रै राजीनामा दिने अडानमा रहेकी छन् । आफ्नो अडानबाट पछि नहटेपछि आज बिहान समेत अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिन कडा निर्देशन दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिन पुनः कडा निर्देशन दिए पनि उनले अझै मानेकी छैनन् । उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल लगायतका नेता बिहान बालुवाटार पुगेका थिए ।

यसअघि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव पौडेल लगायतका नेताले उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने बताएका थिए । तर, उनले अहिलेसम्म राजीनामा नदिने अडान राख्दै आएकी छन् । संवैधानिक व्यवस्था अनुसार उनले राजीनामा नदिएसम्म नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउँदैन । त्यसैले उनले राजीनामा दिएपछि मात्र रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया बढ्छ ।

बलात्कार मुद्दामा परेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि सो पद रिक्त रहेको छ ।

संविधानमा भएको व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको व्यक्ति हुनुपर्छ । झण्डै दुई तिहाई बहुमतसहित ठूलो रहेको नेकपाले सभामुख छोड्न चाहेको छैन । तर, नेकपाबाटै उपसभामुख भएकी तुम्बाहाम्फेले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडी बढ्यो भने नेकपाले सभामुख पदमा उम्मेदवारी दर्ता गर्न पाउने छैन । त्यसैले नेकपाले उपसभामुखलाई राजीनमा गर्न निर्देशन दिएको छ । तर, उनले आफ्नो अडानबाट पछि नहट्दा संसद बैठक समेत स्थगित हुँदै आएको छ ।

नेकपामा सभामुख को हुने भन्ने निर्णय अझै भइसकेको छैन । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डलबीच पटक–पटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन । यसबीचमा नेकपा सचिवालय बैठक समेत बसे पनि निर्णय गर्न सकेको छैन । नेकपा नेताहरुको बुझाइमा मुख्यत उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएकै कारण संसद बैठक स्थगित हुनुका साथै प्रक्रिया नै अवरुद्ध भएको छ ।

उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएपछि सत्तारुढ नेकपमा सभामुख उम्मेदवार छनौट गर्न झनझन पेचिलो बन्दै गएको छ ।

सभामुख हुनका लागि उपसभामुख डा. तुम्बाहाम्फे, पूर्वसभामुख नेम्वाङ, नेकपा स्थायी कमिटी सदस्यद्वय सापकोटा र भुषालले लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्