दक्षिणी चीनमा विशाल आँधी, जनजीवन अस्तव्यस्त



म्याङकुट आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ जहाँ डुबान वर्षा र तीव्र हुरी चलिरहेको छ।

प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भएका छन्, रेलहरू रोकिएका छन् र मुख्य सडकहरू बन्द भएका छन्।

यसले गर्दा लाखौँ मानिसहरूको जनजीवन ठप्प भएको छ। जनघनत्व धेरै भएको ग्वाङडुङ प्रान्तमा उच्च सतर्कताका माझ घरहरू बन्द गरिएका छन्।

चिनियाँ सरकारी माध्यमका अनुसार उक्त क्षेत्रमा दुईजनाको ज्यान गएको छ। उता फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण कम्तीमा ६४ जनाको ज्यान गइसकेको छ।

फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ ।

त्यहाँ खानीमा काम गर्ने कम्तीमा ३० जनासहित दर्जनौँको मृत्यु भएको छ।

सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।

सतर्क रहन आह्वान

म्याङकुट आँधी भित्रिभुभागतर्फ अघि बढिरहँदा ट्रपिकल डिप्रेसन भनिने उष्ण भुभागमा हुने वर्षा हुँदै विस्तारै मंगलबारसम्म कमजोर हुँदै जाने ठानिएको छ।

म्याङ्कुट आँधीका कारण आइतबार अपरान्ह जियाङमेगन सहर नजिकैको चिनियाँ तटमा पहिरो गएको थियो।

म्याङ्कुट आँधीले विध्वंश निम्त्याउनसक्ने भन्दै चीनमा करिब २५ लाख मानिसहरूलाई अन्यत्र सारिएको छ र उच्च सतर्कता अपनाउन भनिएको छ।

आँधीको असर हङकङमा पनि देखिएको छ र त्यहाँका गगनचुम्बी घरहरूका झ्यालहरू उडाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्