भारतलार्इ टाइब्रेकरमा पराजित गर्दै नेपाल फाइनल प्रवेश



काठमाडाैं : नेपाल भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ मैदानमा सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

 

 निर्धारित समय र अतिरिक्त समयको खेल एकएकको बराबरीमा सकिएपछि विजेताको निर्णय टाइब्रेकर मार्फत लिइएको थियो। खेलमा सुरुवाती अग्रता भने नेपालले बनाएकाे थियाे।

 

 नेपालकी रश्मी कुमारी घिसिङले खेलकाे १६ अाें मिनेटमा गाेल गरेकी थिइन्। पहिलाे हाफमा १-० काे अग्रता कायम गरेकाे नेपाल दाेस्राे हाफमा भने बराबरी गाेल खान पुग्याे। भारतकी कप्तान समिक्षाले खेलकाे ६३ अाैं मिनेटमा बराबरी गाेल गरिन्। 

 

त्यसपछि निर्धारित समय र अतिरिक्त समयमा समेत दुवै टाेलीबाट गाेल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएकाे थियाे। जसमा नेपालकी गाेल रक्षक अन्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन्।

 

 उनले भारतका दुर्इ खेलाडीकाे प्रहार राेकिन् भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो। अन्जनाले टाइब्रेकरमा एक गाेल समेत गरिन्। यस्तै टाइब्रेकरमा अन्य गाेल रेखा पाैडेल र मनिषा राउतले गरेका थिए।

 

नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताकाे हैसियतले सेमिफाइनलमा स्थान बनाएका थिए। समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई १२–० ले हराएको नेपाल दोस्रो खेलमा भने बंगलादेशसँग २–१ ले पराजित भएकाे थियाे। यता समूह ‘ए’ को विजेता बन्दा भारतले भुटानलाई ४–० ले र माल्दिभ्सलाई ८–० ले हराएको थियो।

 

नेपालले उपाधिका लागि दाेस्राे सेमिफाइनलकाे विजेतासँग प्रतिष्पर्धा गर्नेछ। दाेस्राे सेमिफाइनलमा अायाेजक भुटान र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्