स्थानीय सरकारलाई आवासको हक प्रत्याभूतिका लागि कार्यक्रम ल्याउन सुझाव



बनियानी : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले विश्वको कुनै पनि मुलुकमा नभएको शासकीय स्वरुप नेपालको संविधानमा भएको बताएका छन । झापाको अर्जुनधारा नगरपालिकाको छैटौँ नगरसभाको उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै महान्यायधिवक्ता खरेलले विश्वका २८–३० मुलुकमा मात्र संविधानसभाबाट संविधान जारी भएको बताउँदै नेपालको संविधान उत्कृष्ट भएको जिकिर गरे ।

उनले भर्खरै मुलुकले नयाँ संविधान प्राप्त गरेकाले तत्काल संशोधनको आवश्यकता नरहेको औँल्याए । “संविधानमा कमीकमजोरी छैन भन्न सकिन्न, कहीँ कतै केही कमजोरी हुन सक्छ”, उनले भने, “कमीकमजोरी भए पनि संविधान राम्रो छ, त्यसलाई विकसित गर्न सकिन्छ ।”

संविधान कार्यान्वयन एवम् सफल बनाउन स्थानीय सरकार लाग्नुपर्नेमा उनले जोड दिए । “लोकतन्त्रलाई बलियो बनाउन स्थानीय सरकार बनाइएको हो” उनले भने, “जसका कारण मुलुकमा सन्तुलित विकाससमेत भइरहेको छ ।”

दक्षिण अफ्रिका गएका बेला त्यहाँको सरकारले जनतालाई घर बनाइदिएको देखेको स्मरण गर्दै महान्यायाधिवक्ता खरेलले स्थानीय सरकारलाई जनताको आवासको हक प्रत्याभूतिका लागि योजना तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

उनले भने, “संविधानमा जनताको आवास, स्वास्थ्य, शिक्षा लगायतका हकको प्रत्याभूति गर्नुपर्ने उल्लेख छ, स्थानीय सरकारले जनतालाई संविधानप्रदत्त अधिकार उपलब्ध गराएर संविधानको सपना पूरा गर्न लाग्नुपर्छ ।”

जनप्रतिनिधि जनताबाट चुनिएर आएकाले तिनलाई आत्मकेन्द्रित विकास नभई जनताको आवश्यकतालाई प्राथमिकता दिन उनले सुझाए । “सबैभन्दा बलियो सरकार भनेको स्थानीय सरकार हो, जनता असन्तुष्ट भए जतिसुकै बलियो संवैधानिक व्यवस्था भए पनि त्यो कमजोर हुन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्