अष्ट्रेलियाको आगलागीको दर्दनाक दृश्यः रगतजस्तै रातो भयो आकाश, करोडौँ जीव जलेर भस्म



एजेन्सी : अष्ट्रेलियाको जंगलमा गत सेप्टेम्बरदेखि सुरु भएको आगलागीले भयावह स्थितीको सिर्जना गरेको छ । आगलागीमा परी २८ जनाले ज्यान गुमाइसकेका छन् भने पचास करोडभन्दा बढी जीवजनावर जलेर भस्म भएका छन् ।

अहिलेसम्म १ करोड बर्ग किलोमिटर क्षेत्र जलिसकेको छ । जमिन मात्रै होइन १८ सय घर जलेर नस्ट भएका छन् ।

यति धेरै नोक्सान भइसक्दा पनि अष्ट्रेलियाको जंगलमा लागेको आगो निभ्ने छनक देखिदैन ।

अष्ट्रेलियामा आगलागी हुनु कुनै नौलो कुरा होइन, यसअघि पनि धेरैपटक अष्ट्रेलियामा आगलागीबाट क्षति भइसकेको छ । तर, यसपटकको आगलागीले भने उग्र रुप लिइसकेको छ ।

बढिरहेको तापक्रम र सुख्खापनको कारण अलग–अलग क्षेत्रका जंगलमा आगो फैलिएको छ । कुनै–कुनै क्षेत्रको तापक्रम ५० डिग्री नाघिसकेको छ भने सुख्खा जंगलमा लागेको आगो थामिने आशा कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरिया क्षेत्रको अत्यधिक तापक्रम र तीव्र गतिमा चलिरहेको हावाको कारण पनि उक्त क्षेत्रमा खतरा मडारिरहेको छ ।

केही क्षेत्रमा भने आगो निभिसकेपछि पनि संकटको गुञ्जायस देखिन थालेको छ । पानीको अभाव, प्रदुषित हावाले जनजीवन कष्टकर बन्दै जान थालेको छ । मानिसमा जति नै प्रभाव जनावरहरुमा पनि परेको छ, पानीको अभाव र वायु प्रदुषणले ।

पानीको चरम अभावको कारण दक्षिण अष्ट्रेलियामा हजारौं ऊँटको गोली हानी हत्या गरिएको छ ।

भीषण गर्मी र सुख्खा क्षेत्र भएका कारण पानीको झनै संकट हुने भएकाले ती ऊँटहरुको हत्या गरिएको हो । उक्त ऊँटहरुले पानीको अभावका कारण शहरीक्षेत्रका भवनहरुमा नोक्सान पुर्याउँन थालेका थिए ।

पानीको खोजीमा शहरीक्षेत्रमा छिरेका ऊँटले बालबालिका र घोडाहरुलाई आक्रमण गर्न सक्ने भएकाले पनि ऊँटहरुको हत्या गरिएको हो ।

यद्यपि, यसका साथै जंगलमा लागेको आगोबाट जनावरहरुलाई बचाउँन झनै मुश्किल हुने देखिन्छ । विशेषज्ञका अनुसार लामो समयदेखिको आगलागीका कारण जनावहरु पेट भर्नको लागि घाँस तथा बोटविरुवाको पनि अभाव हुँदै जानेछ ।

यतिबेला, अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउन भरपुर प्रयास भने भइरहेको छ । फायरफाइटरहरुले निरन्तर आगो निभाउन प्रयत्नरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्