‘भूमिका परिवर्तन गर्न चाहन्छु’



काठमाडौं: निर्देशक विकासराज आचार्यको फिल्म ‘नाइँ नभन्नू ल ४’बाट फिल्मी अभिनयमा ‘डेब्यु’ गरेपछि नायिका वर्षा राउतले पछाडि फर्केर हेर्नु परेन। यो फिल्म पछि उनी एकपछि अर्को फिल्ममा व्यस्त भइन् । वर्षाले अभिनय गरेका अधिकांश फिल्म कमेडी फ्लेभरका छन्। अहिलेसम्म जति फिल्ममा उनको अभिनय छ। सबै फिल्मबाट उनले अभिनयको तारिफ पाइरहेकी छन् ।

 

यिनै वर्षा आगामी शुक्रबार अर्थात पुस २७ गतेबाट रिलिज हुने फिल्म ‘चौका दाउ’मा ‘उर्वशी’ नामक चरित्रमा देखिँदैछिन्। ‘म वास्तविक जीवनमा पनि कमेडी गर्न रुचाउँछु। त्यही कारणले पनि मेरो भाग्यमा कमेडी कथा नै जुरेको होला’, फिल्म प्रोमोसनका लागि हालै सहकर्मी कलाकारका साथ भेटिएकी वर्षा भन्दैथिइन्, ‘म आफ्नो भूमिका परिवर्तन गर्न चाहन्छु। तर आफूले चाहेर पनि नहुने रहेछ।’

 

फिल्मको ट्रेलरमा अधवैशे चार पात्र सन्तोष पन्त, रवीन्द्र झा, विल्सनविक्रम राई र तैयव शाहको वर्षा प्रतिको प्रेमलाई देखाइएको छ। ट्रेलरमा वर्षाको भूमिका हेर्दा कतै उनी ‘प्ले गर्ल’को भूमिकामा त छैनन् भन्ने चर्चा पनि चलेको छ। वर्षा भने यो कुरालाई स्वीकार्दिनन्। ‘ट्रेलरमा म प्ले गर्ल जस्तो देखिएकी छु। तर मेरो भूमिका सस्पेन्स छ’, वर्षा खुलिन्, ‘चार अधवैशेसँगको मेरो भूमिका सस्पेन्स भएकाले पनि फिल्म राम्रो बनेको छ।’

 

वर्षाले पुराना पुस्ताका कलाकारसँग काम गर्न पाउनु आफ्ना लागि शिक्षा लिए सरह भएको बताइन्। ‘अन्य कलाकारसँग काम गरेको भए आफैले यसरी अभिनय गर्नु भनेर सिकाउनु पथ्र्यो। तर यो फिल्ममा म भन्दा वरिष्ठ कलाकारसँग काम गरेको छु। यहाँ त उहाँहरूले मलाई सिकाउनु भयो’, वर्षाले भनिन्।  ट्रेलरमा म प्ले गर्ल जस्तो देखिएकी छु। तर मेरो भूमिका सस्पेन्स छ। चार अधवैशेसँगको मेरो भूमिका सस्पेन्स भएकाले पनि फिल्म राम्रो बनेको छ ।

 

यही फिल्ममार्फत झण्डै २० वर्षपछि अभिनेता तैयव शाह फिल्ममा पुनरागमन गर्दैछन्। ‘२० वर्ष पछि फिल्ममा फर्किदा मेरो अभिनयको जाँगर अझै मरेको रहेनछ। म फिल्ममा पहिलाकै जस्तो जागरिलो चरित्रमा छु’, तैयब भन्छन्, ‘फिल्मका प्रस्तुतकर्ता शम्भुजित बास्कोटाले फिल्म निर्माणको कुरा गरिरहँदा मलाई पनि अभिनयका लागि प्रस्ताव आयो। कथा राम्रो लागेपछि नाइँ भन्न सकिनँ।’ फिल्ममा तैयव मेनपावर व्यवसायी छन्। नागरिकबाट

प्रतिक्रिया दिनुहोस्