रामपुरमा शीतभण्डार स्थापना गरिने, कृषक उत्साहित



बझाङ : कृषिजन्यउपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३०० मेट्रिक टन क्षमताको भण्डारण बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) तयार भइसकेको जनाइएको छ ।

प्रदेश नम्बर ५ को सशर्त अनुदान रकम रु पाँच करोड ९४ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी डिपिआर तयार भएको नगरपालिकाका सूचना अधिकृत रामहरि पाण्डेयले जानकारी दिए । बोलपत्र आह्वान गरेर निर्माणको प्रक्रिया छिट्टै नै अगाडि बढाइने उनले जानकारी दिए ।

नगरपालिकाभित्र उत्पादन भएका कृषिउपजले बजार नपाउँदा कृषकले सास्ती खेप्दै आइरहेका छन् । कहिलेकाहीँ बजारमा नबिकेर कृषकले खेतबारीमै कुहाउन बाध्य छन् । कृषकको उत्पादनलाई बिग्रन नदिन शीतभण्डार निर्माण गर्न लागेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिए ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिन शीतभण्डार निर्माणको योजना ल्याइएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए । “कृषकको जीवनस्तर माथि उकास्न र उनीहरुले उत्पादन गरेका कृषिजन्य सामग्री नबिग्रियोस र मूल्य पनि राम्रो पाउन, बिचौलियाको चलखेल नहोस् भनेर शीतभण्डार निर्माणमा जोड दिएका हौँ”, उनले भने । शीतभण्डार निर्माण हुने भएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्