मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?


पोखरा : पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार हो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको पोखरा आसपासका गाउँमध्ये मगर जातिको बसोबास भएको ठाउँ हो पोखरा महानगरपालिका–२१ को चिलाउने खर्क । मगर समुदायका संस्कार तथा संस्कृति अध्ययन गर्न पाइने यो ठाउँलाई स्थानीय सक्रियतामा समुदायकै जीवन्त सङ्ग्रहालय बनाउने गरी पहल थालिएको छ ।

यहाँको संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्दै गाउँ पर्यटनको विकास गर्न गाउँ पर्यटन मञ्च (भिटोफ), गण्डकी प्रदेशको पहलमा दुई वर्षअघि घरवासको सम्भाव्यता अध्ययन गरिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए । “चिलाउने खर्कमा पोखरा नजीकैको मगर समुदायको बाहुल्य भएकाले उनीहरूको संस्कार र संस्कृतिलाई पर्यटन बजारसम्म पु¥याउने लक्ष्यका साथ घरवास कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको हो,” पहारीले भने ।

मौलिकतायुक्त संस्कृतिमा सम्पन्न यहाँका स्थानीयवासीले सोरठी, ठाडो भाका, झ्याउरेलगायतका लोक सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामा पनि पुस्तान्तरण गर्दै आएका छन् ।

पोखराको मुख्य बजारबाट करिब १२ किलोमिटर दक्षिणमा रहेको यो ठाउँबाट स्याङ्जा र तनहुँका धेरै भूभाग देख्न सकिन्छ । विविध सांस्कृतिक मौलिकता रहे पनि हालसम्म त्यसको प्रचारप्रसार गर्न नसकिएको चिलाउने खर्क सामुदायिक होमस्टेका अध्यक्ष मानबहादुर थापा मगरले जानकारी दिए । उनका अनुसार २२ वटा घरमा घरवास कार्यक्रम थालिएको छ ।

कूल ६५ घरधुरी रहेको यहाँ सञ्चालित घरवासमा पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिन पाउँछन् । एक रात आएर बस्ने पर्यटकका लागि समितिले उनीहरूलाई खाए बसेबापत एक हजार रुपैयाँ लिन्छ । बेलुका गाउँमा पुगेका पर्यटकलाई स्थानीयवासीले न्यानो आतिथ्यतासहित शुरुमा मकै, भट्ट जस्ता स्थानीय उत्पादनका परिकारको नास्ता खुवाउने गर्दछन् । बेलुकाको खानासहित मगर जातिका विभिन्न सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन लिँदै पर्यटक आराम गर्दछन् । बिहानको चिया, खाजा खाएर बिदावारी हुने व्यवस्था समितिले मिलाएको छ ।

मगर संस्कृतिका साथै गाउँमा रहेको जलदेवी मन्दिर र नारायण मन्दिर यहाँको धार्मिक पर्यटकीयस्थल हुन् । जलदेवी मन्दिरको स्थापना सम्बन्धमा झण्डै दुई सय वर्षअघिको शिलालेख रहेका कारण यसको अस्तित्व परापूर्वकालदेखि नै भएको चिलाउने मगर टोल विकास संस्थाका अध्यक्ष रुद्र थापा मगरले बताए ।

जलदेवीको मन्दिर रहेको अनौठो किंवदन्ती छ । परापूर्वकालमा स्याङ्जा, कास्की र आसपासका मानिस यही गाउँको बाटो भएर नून लिन बुटवलसम्म पुग्ने गर्दथे । नून बोक्ने ढाक्रेहरू यहाँ आएर रातको समयमा बास बस्दा बिरामी भएछन् । ज्योतिषीलाई देखाउँदा यहाँ जलदेवी रहेकी र उनको खोजी गरी पूजाआजा गर्नुपर्ने भनेछन् । ज्योतिषीको सल्लाहअनुसार खन्दा जलदेवीको शिला प्राप्त भएछ र त्यसै समयदेखि शिला स्थापना गरी जलदेवीको पूजाआजा गर्र्दै आइएको स्थानीय बुढापाका बताउँछन् ।

मन्दिरमा प्रत्येक चैते दशैँमा विशेष पूजाआजा हुने गरेको र अघिपछि विभिन्न समयमा मनोकामना पूरा हुने विश्वासका साथ कास्की र स्याङ्जालगायतका विभिन्न स्थानबाट भाकलसहित दर्शनार्थी आउने गरेको मगरले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भिटोफ गण्डकी प्रदेशले चिलाउने खर्क जस्तै पर्यटनका सम्भावना बोकेका गाउँहरूलाई पर्यटन बजारसँग जोड्दै प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने मञ्चका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

“हामी होमस्टे (घरबास) सञ्चालनसँगै उनीहरूलाई उत्पादनसँग जोड्दै लैजाने योजनामा छौँ,” उनले भने, “प्रदेशका ११ वटै जिल्लामा गाउँ पर्यटन प्रवद्धर्धनका लागि संयन्त्र गठन गरी नमूना होमस्टेको अवधारणासहित कार्यक्रम अघि बढाइनेछ ।”

भिटोफले प्रदेश सरकार, नेपाल पर्यटन बोर्डलगायतका सम्बद्ध संस्थासँग सहकार्य गर्दै प्रवद्धर्धनात्मक गतिविधि अघि बढाउने उनले बताए । चिलाउने खर्कमा घरबास कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यका साथ वडा कार्यालयको सक्रियतामा सामुदायिक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणमा रु २७ लाख लगानी गरिसकिएको वडाध्यक्ष खगराज आचार्यले बताए ।

वडाले स्थानीयलाई आतिथ्यता सत्कारका साथै खाना पकाउने लगायतका तालीम प्रदान गरेको उनले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।

पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् । उनलाई

जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरु बिचको विवाद सतहमा आएको छ । राजपा र समाजवादी

काठमाडौं : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका

काठमाडौँ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका

एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ

एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५

काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने

काठमाडौं : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको

काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार)

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय