बम्जन आश्रमको अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई



काठमाडौं: रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा भएको अनुयायी सञ्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ।पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको खबर  नागरिक दैनिकमा छ।

 

दुई दिनसम्म आश्रम नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो। सञ्चलालको शव पुरिएको भनिएको खाडल उत्खनन् गर्दा त्यहाँ नुनका नौ वटा खाली पोका फेला परेका थिए। तर शव र त्यसका अंग भने प्रहरीले भेटेन। मकवानपुर हेटौँडा घर भएका सञ्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दिएका थिए।

 

घटनास्थल भएकाले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन मकवानपुर प्रहरीले भोलिपल्टै महेन्द्रको जाहेरी सिन्धुपाल्चोक पठाएको थियो। बिहीबारै जाहेरी दर्ता गरी सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान गरिहरेको छ। ‘जाहेरी सिन्धुपाल्चोकमा दर्ता भएकाले अनुसन्धान जिम्मा हामीमा सरेको छ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले मंगलबार नागरिकसँग भने, ‘अब सिआइबी (केन्द्रीय अनुसन्धान ब्यूरो) ले हामीलाई सघाउने मात्र हो।’

 

प्रहरी स्रोत अनुसार पीडित परिवारले सञ्चलालको बाँडेगाउँ आश्रममै हत्या गरी नजिकै खाडल खनेर २० पोका नुन छरेर पुरेको जाहेरीमा उल्लेख गरे पनि हत्यामा को–को संलग्न थिए भन्ने किटानी गरेका छैनन्। जाहेरी दर्ताको भोलिपल्टै शुक्रबार सिन्धुपाल्चोक प्रहरी र सिआइबीको संयूक्त टोलीले बम्जनको बाँडेगाउँस्थित आश्रममा छापा मारेको थियो।

 

दुई दिनसम्म आश्रम नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो। सञ्चलालको शव पुरिएको भनिएको खाडल उत्खनन् गर्दा त्यहाँ नुनका नौ वटा खाली पोका फेला परेका थिए। तर शव र त्यसका अंग भने प्रहरीले भेटेन। जाहेरीमा उल्लेख भए झैँ शव गलाउन प्रयोग गरिएका भनिएको नुनका २० मध्ये नौ खाली पोका भेटिएपछि प्रहरी बम्जन आश्रममा ‘अप्राकृतिक गतिविधि’ भएको निष्कर्षमा पुगेको छ। प्रमाण नष्ट गर्न शवका अंग जलाइएको हुन सक्ने आशंका गर्दै प्रहरीले खाडलको माटो, नुनका खाली पोका र आश्रम वरपर भेटिएका कोइला नमूनाका रुपमा संकलन गरेको थियो। तिनलाई प्रारम्भिक प्रमाण मान्दै प्रहरीले बैज्ञानिक परीक्षणका लागि संकलित नमूना राजधानी पठाएको छ।

 

बैज्ञानिक परीक्षणको परिणाम नआइ अनुसन्धानका विषयमा थप नबताउने अडानमा सिन्धुपाल्चोक प्रहरी छ। ‘आश्रममा प्रयोग भएका नुनका खाली पोका व्यवस्थापन गर्न खोजिएको हो भने अन्य सहज बिकल्प छन्। पाँच फिट गहिरो खाडल खनेर पुरिँदैन,’ एक अनुसन्धान अधिकृतले भने। महेन्द्रले जाहेरीमा उल्लेख गरेअनुसार उनका बाबु सञ्चलाल २०७१ मा बम्जनको आश्रममा पुगेका थिए। हेटौँडा उपमहानगरपालिका–१४ वनस्पति टोलका सञ्चलाल केही समय बम्जनसँगै बाराको हलखोरियामा बसेका थिए। त्यही वर्षको चैत १४ गते सञ्चलाल आफैँले छोरा महेन्द्रलाई १७ गते घर आउँछु भनेका थिए।

 

१० दिन कुर्दा पनि बाबु नआएपछि महेन्द्रले खोजविनका लागि मकवानपुर प्रहरीमा चैत २७ गते निवेदन दिएका थिए। चैत २९ गते बाबु खोज्दै बम्जनको बाँडेगाउँस्थित आश्रम पुगेका महेन्द्रलाई ‘अस्तिनै घर गइसकेको’ भन्दै फर्काइएको थियो। २०७१ चैत ८ देखि १५ गतेसम्म बाँडेगाउँ आश्रममा मैत्रीपूजा लगाइएको थियो। पूजापछि बम्जनका केही अनुयायी बिरामी परे। ‘तन्त्र गरेर आफ्ना चेलालाई बिरामी पारेको आरोपमा सुरुमा बम्जन र पछि अरु अनुयायीले कुट्दा कुट्दै बुबाको ज्यान गयो,’ घटनापछि भागेका आनीहरुको भनाई उदृत गर्दै महेन्द्रले जाहेरीमा उल्लेख गरेका छन्, ‘त्यसपछि आश्रम नजिकै खाडल खनेर चाँडै कुहियोस् भनेर २० पोका नुन छर्कँदै शव पुरियो।’

 

बम्जनका विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल बाहेक अरु चार अनुयायी बेपत्ता भएको खबर सार्वजनिक भएको छ। हाल बेपत्तामध्ये तीन बाँडेगाउँबाटै हराएको खुले पनि एक अनुयायी कहाँबाट बेपत्ता भएको भन्ने खुलेको छैन। बेपत्तामध्ये तीन अनुयायीका आफन्तले खोजीका लागि मकवानपुर, बारा र नुवाकोटमा निवेदन दिएका छन्।

 

मकवानपुरकै फूलमाया रुम्बा बाँडेगाउँस्थित आश्रमबाट हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको छ। फूलमाया २०७१ माघदेखि बेपत्ता भएको उनका भाइ विजयले निवेदनमा उल्लेख गरेका छन्। त्यस्तै बेपत्ता नुवाकोटकी चुन्मोको खोजविनका लागि आफन्तले त्यहाँको जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मरासिनी बम्जन आश्रमभित्रका हत्या र बेपत्ता आरोपबारे सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्