एयर एसियाले बाँकी रकम चुक्ता नगरे जुनसुकै बेला जहाज ग्राउन्डेड



काठमाडौं- मलेसियन विमान कम्पनी एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ७ करोड रुपैयाँ बुझाएको छ। 

 

एयर एसियाले शुक्रबार विमानस्थल सेवा शुल्क बापतको बक्यौता रकमको ७ करोड रुपैयाँ भुक्तानी गरेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

 

एयर एसियाले ७ करोड रुपैयाँ तिरे पनि विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकमको विलम्ब शुल्क १३ करोड रुपैयाँ बाँकी नै छ।

 

एयर एसियालाई एक साताआगाडि मात्रै विमानास्थल कार्यालयले एकै पटकमा १० करोड रुपैयाँ नतिरेको अवस्थामा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड गर्ने भन्दै पत्राचार गरेको थियो।

उडान सुचारु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रुपैयाँ पुगेको थियो। त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रुपैयाँ बुझाउनुपर्ने भइसकेको थियो।

 

यो विषयमा मिडियामा आउन थालेपछि विमानस्थल कार्यालयले एयर एसियासँग रकम उठाउन ताकेता गर्दै आएको थियो । शुक्रबारसम्म गरी एयर एसियाले साँवा रकम भुक्तानी गरेको क्षेत्री बताउँछन्।

 

अब एयर एसियाले बाँकी रहको विलम्ब शुल्क बापतको १३ करोड बक्यौता चुक्ता नगरेको अवस्थामा जुनसुकै अवस्थामा जहाज काठमाडौं विमानस्थमै ग्राउन्डेड गरिदिने क्षेत्री बताउँछन्।

प्रतिक्रिया दिनुहोस्