जनकपुर उपमहानगरमा मेयर साहको ब्रम्हलुट



जनकपुरधाम : देशकै धार्मिक तथा सांस्कृतिक समृद्धिको केन्द्र बनाउँदै विकास गर्ने नारा दिएर जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखमा विजयी बनेका लालकिशोर साहले अहिले नगरको विकासमा भन्दा आफ्नो र आफन्तको विकास गरिरहेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

उपमहानगर प्रमुख साहले गरेका अनियमितताका काण्डहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि एकतिर नगरवासीहरु रुष्ट बन्दै गएका छन् भने अर्का तर्फ आफ्नो पोल खुलेपछि प्रमुख साह आक्रोशित बन्न पुगेका छन् ।

अहिले उपमहानगरपालिकामा साहले गरेका भ्रष्टाचारजन्य क्रियाकलाप छताछुल्ल हुन पुगेका छन् । प्रमुखले यो आर्थिक वर्षमा नगरलाई विकसित र समृद्ध बनाउने भनेर नीति तथा कार्यक्रममार्फत अघि सारेको कार्यक्रम पनि अलपत्र बनेको छ । यसबाट मेयरको प्रतिबद्धता पनि ओठेभक्तिमा परिणत हुन पुगेको छ ।

उपमहानगरपालिका अहिले साहको आफन्तहरु भर्ती गर्ने केन्द्रमा परिणत भएका छन् ।

मेयरको प्रतिबद्धता बोलीमै सिमित
जनकपुरधामका ऐतिहासिक सांस्कृतिक धरोहरहरुको संरक्षण, संवद्र्धन, पर्यटन प्रवद्र्धन र रोजगारीलाई प्राथमिकता दिइएको उपमहानगरका मेयर लालकिशोर साहले सार्वजनिक कार्यक्रमहरुमा पटक–पटक प्रतिबद्धता जनाइरहेका हुन्छन् । तर, उनको यो प्रतिबद्धता कार्यकाल अवधिको साढे दुई वर्ष बोलीमै सिमित रहेकोस्थानीयको गुनासो छ ।

उनले उपमहानगरको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकिकरण तथा विकासलाई प्राथमिकता, शिक्षा, स्वास्थ्यलगायत सामाजिक पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, सुरक्षित बस्ती सुनिश्चितता, शौचालय तथा रंगभूमि मैदानको सौन्दर्यीकरण, गरिबी न्यूनीकरण, सरसफाई तथा फोहरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धन लगायतका कामहरु गर्ने प्रतिबद्धता समेत नजनाएका होइनन् तर त्यसको कार्यान्वयन भने हालसम्म हुन सकेको छैन ।

फुलबारी जग्गामा ८५ लाखको चलखेल
धार्मिक नगरलाई संरक्षण र प्रवद्र्धन नर्गे दायित्व बोकेको स्थानीय सरकारका जनप्रतिनिधि नै आर्थिक प्रलोभनमा परि विश्व प्रसिद्ध जानकी मन्दिरको फुलबारीको जग्गा समेत अतिक्रमण गरेका छन् । मेयर साहले निजी घरलाई बचाउन ८५ लाख रुपैयाँ लिई रातारात ३ कठ्ठा १० धुर क्षेत्रफलमा रहेको फुलबारीको जग्गालाई अतिक्रमण गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का अध्यक्ष दिपेन्द्र साह लगायत विभिन्न संघसंस्थाहरुले आरोप लगाउँदै आएको छ ।

सडक निर्माणको क्रममा जानकी मन्दिरको फुुलबारीलाई अतिक्रमण गरी बाटोमा परेका घरहरुलाई जोगाउनका लागि जानकी मन्दिर वरिपरिका होटेल व्यवसायीहरुसँग मेयर साहले ८५ लाख रुपैयाँ लिएको युवा अभियन्ता सुशिल कर्णको दाबी छ ।

आफन्त र नातागोता भर्ती केन्द्र
यति मात्र नभई मेयर साहले उपमहानगरपालिकामा समेत ब्रम्हलुट मच्चाएका छन् । नगर प्रमुख साहले शुरु देखिनै उपमहानगरपालिकालाई आफन्त, नातागोता र कार्यकर्ता भर्ती गर्ने केन्द्रको रुपमा प्रयोग गर्न थालेको आरोप समेत स्थानीयको छ । पछिल्लो पटक मेयर साहले करारमा कर्मचारी भर्ना गरेका मध्ये आफ्ना नातामा पर्ने भान्जा र भतिजा लगायतका व्यक्तिसहित कार्यकर्ताहरु रहेका छन् ।

भ्रष्टाचारका उदाहरण कयौं छन् । तर सार्वजनिक हुन सकेका मध्ये जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण, एडिबी र आईयूडिपीअन्तर्गत निर्मित सडकमा जग्गा अतिक्रमण गर्दा जनकपुर बजार क्षेत्रमा एक इन्चदेखि फिटौ फिटसम्म मापदण्ड विपरित जग्गा बचाउन लाखदेखि करोडौैं रुपैयाँसम्म घरधनीहरुसँग लिएको छ । नगरमा विद्युतिय बल्बदेखि पावर जडान, मास्क लाईट लगायत खरिदमा लाखौं अनियमितता र आफ्ना नातेदार भान्जा अरुण साहलाई योजना दिएको कुरा अख्तियारले सो मुद्दामा ६-६ जनालाई कारवाही गरिसकेको घटनाले प्रष्ट पार्छ । माछा चोर्नेदेखि सडक बनाउनसम्ममा मेयर साह भ्रष्टाचारमा संलग्न रहेको कुरा विभिन्न सञ्चार माध्यममा आएको समाचारहरुले देखाउँछ । भ्रष्टाचार र अनियमिततामा मात्र सिमिति नभई मेयर साह भोगविलासी समेत बनेका छन् । जसको उदाहरण उनले चढ्दै आएको करिब डेढ करोड रुपैयाँ बराबरको विदेशी गाडी ।

गत आर्थिक वर्षमा मनोमानी खर्च
मेयर साहले गत आर्थिक वर्ष २०७५/०७६ मा पदाधिकारीको बैठक भत्ता वापत १९ लाख ७५ हजार ७२ रुपैयाँ, अनुगमन मूल्यांकन खर्च वापत १७ लाख ६ हजार ४ सय ९६ रुपैयाँ, नगरसभा सञ्चालन खर्च वापत ५७ लाख ९ हजार ५ सय ६४ रुपैयाँ, पदाधिकारीको इन्धन खर्चमा ५ लाख, कार्यालय प्रयोजनवापतको इन्धनमा ६५ लाख, सरसफाइ संरचना निर्माणमा १ करोड ४४ लाख ४४ हजार ६ सय ९४ रुपैयाँ, विभिन्न कार्यक्रमको खर्चमा ३० लाख ४३ हजार ५ सय ५७ र विविध शीर्षक अन्तर्गत ६९ लाख ४ हजार ५० रुपैयाँ मनोमानी खर्च गरेपनि बुँदागत रुपमा सञ्चारकर्मीले सूचना माग गर्दा विस्तृत सूचना उपलब्ध नगराउन कर्मचारीलाई ठाडो निर्देशन नै दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा कुनै सूचना लिनुपरेमा त्यहाँ हालसम्म सूचना अधिकारी समेत नियुक्त गरिएको छैन ।

राज्यको रकम र स्थानिय जनताले तिरेको करमा पनि ब्रम्ह्लुट हुन थालेको सेवाग्राहीहरुको गुनासो छ । स्थानिय तह सञ्चालनमा आएको साढे दुई वर्षमै जनकपुरधाम उपमहानगरपालिकामा मेयर लालकिशोर साहले ब्रम्ह्लुट गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्