पर्यटकलाई स्वागत गर्न गण्डकीमा ‘नमस्ते अभियान’



पोखरा : सन् २०१९ लाई प्रदेश आन्तरिक भ्रमण वर्षका रुपमा मनाउन लागेको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र नमस्ते अभियान थाल्ने भएको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा प्रदेश सरकारले सन् २०२२ मा प्रदेशभित्रै २० लाख पर्यटक पुर्याउने योजना अघि सारेको छ।

 

प्रदेश आन्तरिक भ्रमण वर्ष–२०१९ का सम्बन्धमा नेपाल पर्यटन बोर्ड पोखराको संयोजनमा आज यहाँ आयोजित अन्तरक्रियामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सडक यातायातमार्फत प्रवेश गर्ने मुख्य नाका मुग्लिन र राम्दीमा ‘नमस्ते सूचना अन्तर्राष्ट्रिय कक्ष’ स्थापना गरी सो अभियान प्रदेशका २४ लाख जनताको साझा अभियान बन्ने जानकारी गराए।

 

आन्तरिक पर्यटनको विकासका लागि आगामी फागुनमा पोखराबाट सिमरा, चैतमा नेपालगञ्जमा प्रत्यक्ष हवाई सम्पर्कको विस्तार गरिने योजना अघि सारिएको मन्त्री लम्सालले जानकारी दिए। बोर्डका प्रबन्धक सूर्य थपलियाले लक्ष्य सफल पार्न पर्यटक आतिथ्यता लगायतका तालीम सञ्चालन गरिने बताए।

 

बोर्डको सो कार्यालयले आजै आन्तरिक भ्रमण वर्षलाई लक्षित गरी यसको नारा, लोगोमा समेटिनुपर्ने विषय, प्रदेशका आकर्षक गन्तव्य, आन्तरिक पर्यटकले भोग्ने समस्या तथा समाधानका उपाय, सरकारको प्राथमिकता, सम्भावित गन्तव्यको सूची, भ्रमण प्याकेजको सहुलियतलगायतका विषयमा सरोकारवालासँग लिखित सुझाव सङ्कलन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्