मेक्सिकाेकाे सीमामा पर्खाल लगाउन अमेरिकी राष्ट्रपतिद्वारा रकम माग



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन रकमको माग गरेका छन् ।

टेलिभिजन सम्बोधनमार्फत अमेरिकी राष्ट्रपतिले मेक्सिकोको सीमामा पर्खाल बनाउन बजेट माग गरेका हुन् ।

देशमा बढ्दै गएको मानवीय तथा सुरक्षात्मक खतरबाट जोगिनका लागि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनुपर्ने उनको तर्क छ ।

आप्रवासी समस्या समाधानको उपाय सीमा पर्खाल रहेको ट्रम्पले बताउँदै आएका छन् । ओभल कार्यालयबाट गरेको आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि बजेटको माग गरे पनि राष्ट्रिय आपतकालको भने घोषणा गरेनन् ।

यसअघि ट्रम्पले कांग्रेसले सीमा पर्खालका लागि बजेट बिनियोजन गर्न अवरोध गरेमा राष्ट्रिय आपतकाल लगाएर भए पनि सीमा पर्खाल निर्माण गर्ने बताएका थिए ।

यता, डेमोक्रेटिक पार्टीका नेताले राष्ट्रपति ट्रम्पको सम्बोधनको टेलिभिजनमार्फत नै खण्डन गरेका छन् । डेमोक्रेटिक पार्टीकी नेतृ तथा हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र सिनेटका माइनोरिटी लिडर चक शुमरले ट्रम्पको भनाइ खण्डन गर्दै उनले अमेरिकी नागरिकलाई बन्धक बनाएको आरोप लगाए ।

उनीहरुले १८ दिनदेखि जारी आंशिक सरकारी कार्यालयको ठप्प कामकाज सुचारु हुने अवस्था बनाउन माग गरेका छन् ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकम छुट्याउनु पर्ने अडानमा रहेका ट्रम्प र त्यसको विक्षमा रहेका सिनेटरबिचको विवादका कारण संघीय सरकारका विभिन्न कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा आंशिक संघीय कार्यालयहरुको काम ठप्प छ ।

राष्ट्रपति ट्रम्पले संघीय सरकारका लागि आवश्यक पर्ने कार्यसञ्चालन बजेटमा सीमा पर्खालका लागि पाँच बिलियन डलर छुट्याउनु पर्ने अडान लिँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रको भ्रमण गर्दै छन् । त्यसअघि उनले टेलिभिजनमार्फत आप्रवासी समस्या समाधानका लागि पर्खालको आवश्यकताबारे आफ्नो तर्क प्रस्ततु गरेका हुन् ।

मेक्सिकोसँगको सीमाबाट अमेरिकामा आप्रवासी प्रवेश गर्ने गरेका छन् । अमेरिकाले अधिकांशलाई सीमा क्षेत्रमै बन्धक बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्