नापी कार्यालय घरभाडा नै नतिरी अन्तै सरेपछि…



वीरगन्ज : नापी कार्यालय पर्साले घर बहाल नै नतिरी अन्तै घरमा सरेको घरधनीले आरोप लगाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर–४ विर्तामा रहेको सीमादेवी पटेलको दुई तले घर नापी कार्यालयका तत्कालीन प्रमुख दुर्गा दास मर्हजनले पाँच बर्षको लागि २०७४ जेष्ठमा सम्झौता गरेर भाडामा लिई संचालन गरेका थिए ।

तर, एकाएक गत मंसिर महिनाको अन्तिम सातादेखि नापी कार्यालय अन्तै घरमा सरेको छ । घरधनी पटेलका श्रीमान सोमबार कार्यालय रहेको घरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयका प्रमुखले ४ महिनाको घर बहाल, विद्युत र पानीको महशुल नतिरी अर्कै घरमा सरेको गुनासो गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै पटेलले ५ वर्षका लागि मासिक ४५ हजार रुपैयाँ भाडा दिने लिखित सहमति गरि नापी कार्यालय संचालनका लागि घर भाडामा दिइएको बताए । पत्रकार सम्मेलनमा उनले सम्झौता तोडेर गत मंसिर अन्तिम साता आफूलाई खबर नै नगरि घर खाली गरेर अर्कै घरमा कार्यालय सारिएको जानकारी दिए ।

४ महिनाको घरभाडा १ लाख ८० हजार, बत्ती महशुलको १५ हजार र खानेपानीको महशुल ३५ हजार गरि २ लाख ३० हजार रुपैया नापी कार्यालयले अहिलेसम्म पनि तिरेको छैन । घरबहाल दिने बेला गरिएको सहमति पत्रमा घर खाली गर्नु परेमा घरको रंगरोगन र मर्मतसम्भार गरेर मात्रै घरखाली गर्ने सम्झौतामा उल्लेख छ ।

यता, नापी कार्यालयका प्रमुख राम विनय सिंहले भने पहिले कार्यालय सञ्चालनमा रहेको घरधनी पटेलले नै बाँकी रहेको घरभाडाको रकम बुझन नमानेकाले चेक काटेर जिल्ला प्रशासन कार्यालयमाा पठाएको जानकारी दिएका छन् । बिजुली र पानीको महशुल सबै तिरिसकेको र घरबहालका लागि गरिएको सहमति पत्रमा घरको रंगरोगन गर्ने उल्लेख नगरिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्