गण्डकी प्रदेश : नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी



कास्की: गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ। नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार अबेर गरी सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए।

 

साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका छन्। नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ। अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक थिए भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहेकी थिइन्।

 

दलको बैठकमा सरकारको काम कारबाही, अन्तरप्रदेश समन्वय परिषद्को हालै सम्पन्न भएको बैठकका निर्णय लगायतका विषयमा दलका नेतासमेत रहेका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराएका सदस्य बरालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्