जन्मेको एक महिनाभित्रै मृत्यु हुने शिशुको सङ्ख्या २४ हजार



जनकपुर : नेपालमा वर्षेनी ६ लाख जन्मने नवजात शिशु मध्ये एक महिनाभित्रै २४ हजार शिशुको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

६ लाख नवजात शिशु मध्ये ११ हजार मृत अवस्थामा, १३ हजार नवजात शिशु जन्मेको महिना नपुग्दै मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको हो ।

सोहि अनुरुप नवजात शिशुको मृत्युदरलाई घटाउन देशभरमा मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सुरु गरिएको छ ।

सोमवार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा गुणस्तरीय सेवा सुधार अन्तर्गत विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सिप तथा प्रविधिलाई प्रयोगमा ल्याई शिशुको मृत्युदरमा कमी ल्याउने उदेश्यका साथ कार्यक्रम गरिएको छ ।

गोल्डेन कम्युनिटीकी सिर्जना शर्माले १७ प्रतिशत शिशुहरु जन्मेको पहिलो घण्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गरेको बताईन् ।

जसमध्ये महिना नपुगी ३१ प्रतिशत, जन्मनासाथ स्वासँ फेर्न नसक्नु र १९ प्रतिशतमा अन्य संक्रमण भएर मर्नुलाई प्रमुख कारण देखाएको छ ।

यसरी नेपाल सरकारले हाल नवजात शिशु मृत्युदरलाई सन २०३० सम्म जिवित जन्ममा १२ र मृत जन्मने शिशुको जन्म १३ मा घटाउने लक्ष्य लिईएको छ । जस अन्तर्गत नेपाल सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न गोल्डेन कम्युनिटीले ‘सुसार’ कार्यक्रमको थालनी गरेको जनाएको छ ।

कार्यक्रमले मातृ तथा नवजात शिशु स्याहार वडाहरुमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूती समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न सहयोग पुर्याउने गोल्डेन कम्युनिटीका प्रतिक्षा भट्टराईले जनाईन् ।

प्रतिक्रिया दिनुहोस्