राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपा गठबन्धनको संयुक्त बैठक सम्पन्न



जनकपुरधाम : आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेकपा र राजपा गठबन्धनले जनकपुरमा संयुक्त रुपमा छलफल गरेको छ ।

जिल्ला स्तरिय बैठकमा धनुषा जिल्लाबाट मतदाता रहेका नगरपालिकाका मेयर/उपमेयर,गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष उवं प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न नेताहरुको समेत उपस्थिती रहेको थियो । बैठक निर्वाचनमा आफ्नो मतदाताहरुलाई कसरी प्रभावकारी रुपमा परिचालन गर्ने र विपक्षीको प्रलोभनलाई कसरी काटन सकिने भन्ने विषयमा केन्द्रिय रहेको थियो ।

वार एसोसिएसनको सभाकक्षमा आयोजना गरिएको सो बैठकमा मतदाताहरुलाई कसरी मतदानस्थलसम्म ल्याउने लगायतको विषयमा छलफल भएको थियो ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले उम्मेदवार र मतदाताहरुलाई राखेर परिचायत्मक कार्यक्रम समेत गरिएको जानकारी दिए ।

उनले विपक्षीहरुले जुन रुपमा हल्ला फैलाएको छ त्यसमा अलिकति पनि सत्यता नरहेको र आफ्नो गठबन्धनले प्रदेशको चार वटै स्थान जित्ने समेत दाबी गरे ।

मण्डलले आफ्नो गठबन्धनको बहुमत रहेकोले यसबाट विपक्षीहरु आतिएको र विभिन्न प्रकारको हल्लाहरु फैलाईरहेको आरोप लगाए । त्यसैगरी राजपा नेपालका प्रदेश नम्बर २ का सचेतक परमेश्वर साहले नेकपा राजपा गठबन्धन जित्ने दाबी गरे ।

साहले गठबन्धन प्रति आफ्ना मतदाताहरु प्रतिवद्ध रहेको बताउँदै विपक्षीहरुले विभिन्न प्रकारको प्रलोभन मात्रै दिने गरेका र उनिहरु भ्रम फैलाउने खेतीमा लागेको बताए ।

कार्यक्रममा राजपा नेकपा गठबन्धनका उम्मेदवारहरु शेखर सिंह,राधेश्याम पासमान,तुलसा दाहाल,मृगेन्द्र सिंह यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्