गठ्ठाघरमा तरकारी बजार स्थापना



काठमाडौं : काठमाडौंको कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । अन्नपूर्ण बहुमुखी सरकारी संस्था लिमिटेडले मध्यपुरथिमि नगरपालिका– ३ गठ्ठाघरमा सञ्चालनमा ल्याउन लागेको अन्नपूर्ण तरकारी तथा फलफूल बजारको नामबाट जिल्लामै पहिलो पटक तरकारीको ठूलो बजार सञ्चालनमा ल्याउन लागिएको हो ।

सहकारी संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष देवराज न्यौपानेले आठ रोपनी क्षेत्रफलमा २०० वटा कक्ष रहेको, दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरी तरकारी बजार शुरु गर्न लागिएको जानकारी दिए । व्यक्तिले सञ्चालन गर्दै आएको भक्तपुर तरकारी तथा फलफूल बजारलाई विस्तार गरी सहकारी संस्थाले वृहत रूपमा ठूलो तरकारी बजार सञ्चालनमा आउने भएको हो ।

विभिन्न क्षेत्रमा सक्रिय भएर आफ्नो पहिचान बनाउनु भएका नेपाल कम्युनिष्ट पाटी (नेकपा)का जिल्ला कमिटी सदस्य एवं युवा नेता श्यामसुन्दर बस्नेतले गठ्ठाघरमा जिल्लाकै पहिलो व्यवस्थित ठूलो तरकारी बजार सञ्चालनमा ल्याउने भएका हुन ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जानसक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी कृषकलाई बजार खोज्न नपर्ने र बिचौलियाको अन्त्य गर्ने लक्ष्यका साथ तरकारी बजार सञ्चालनमा ल्याइने सञ्चालक शिवहरि खनालले जानकारी दिए ।

कालीमाटी र बल्खुलगायका अन्य तरकारी बजार भन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

सहकारी संस्थाका सचिव एवं तरकारी बजारका सञ्चालक बस्नेतले बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफुल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी समेतको व्यवस्था गरिएको जानकारी दिँदै व्यापारीदेखि उपभोक्तासमेतलाई सहज हुने गरी सहकारी संस्थाले तरकारी बजार सञ्चालन गर्ने बताए ।

तरकारी बजार र सङ्कलन केन्द्रमा प्रत्यक्ष ४०० भन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए । रासस

प्रतिक्रिया दिनुहोस्