डा. केसीसँगको सम्झौता तोड्दै चिकित्सा शिक्षा प्रतिवेदन पारित



काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग भएको सहमति तोड्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

 

समितिको बहुमतले प्रतिवेदन पारित गरेको हो । समितिमा बहुमतमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सदस्यले प्रतिवेदनका पक्षमा मतदान गरेका छन् । कांग्रेसले भने डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपार्ने मत राख्दै विपक्षमा मत दियो । 

पारित प्रतिवेदनमा सम्बन्धन लिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका उपत्यकाबाहिरका शिक्षण संस्था सञ्चालन हुन पाउने उल्लेख छ । यसमा आयोगले निर्णय गर्ने र ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ । यो निर्णय डा. केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिसविपरीत हो ।

 

प्रतिवेदनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन भनी उल्लेख भए पनि सम्बन्धन लिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू नहुने लेखिएको छ । 

माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने सिफारिस गरेको थियो । सरकार र डा. केसीबीच पनि त्यही सहमति भएको थियो । यो सहमतिले उपत्यकाबाहिर पनि ८–९ वर्षसम्म मेडिकल कलेज नखुल्ने अवस्था आएको भन्दै सत्तारुढ नेकपाका सांसदले विरोध गरेका थिए ।

डा. केसीले भने आफूसँग भएकाे समुझाैताविपरीत प्रतिवेदन पारित भए अनशन थाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्