निर्मलालाई न्याय माग्दा प्रहरीबाट कुटिए महिला अधिकारकर्मी



कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार कञ्चनपुर जिल्ला अदालतको मुल गेटमा धर्नामा बसेका अधिकारकर्मीलाई प्रहरीले कुटपिट गर्दा एक जना घाइते भएकी छिन् । 

धर्नामा बसेकालाई हटाउन प्रहरीले बल प्रयोग गर्दा अधिकारकर्मी शारदा चन्दा घाइते भएकी हुन् । चन्दलाई पक्राउ गर्ने क्रममा उनीमाथि कुटपिट भएको प्रत्यक्षदर्शीको आरोप छ । 

चन्दसँगै रहेका अन्य अधिकारकर्मी आनन्दी राना, निर्र्मला जोशी र लक्ष्मी मल्लले न्यायका लागि भएको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले महिलामाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । पुरुष प्रहरीले शारदालाई कुटपिट गर्दै र कपडासमेत च्यातिदिएको उनीहरुको आरोप छ ।

महिला अधिकारकर्मी लक्ष्मी मल्लले न्यायका लागि भएको शान्तिपुर्ण धर्नामा कुटपिटका साथै पुरुष प्रहरीले लुगासमेत फुकालिदिएको आरोप लगाइन् ।  

घाइते चन्दको पेट, घाँटी र टाउकोमा चोट लागेको छ । महाकाली अस्पतालमा उनको उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ । 

प्रहरीले आदालत जस्तो संवेदनशील क्षेत्रमा धर्ना बसेको भिडलाई हटाउनमात्र खोजेको बताएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र चन्दले कुनैपनि प्रहरीले शारदालाई कुटपिट र धरपकड नगरेको बताए । ‘हामीले कसैलाई कुटपिट गरेको छैन्,’ चन्दले भने् । 

महिला अधिकारकर्मीले शारदालाई कुटिपिट गर्ने प्रहरी कमाण्डरमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा मोहन विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्