टेलिकम कार्यालय गाईगोठमा परिणत



                                                    बेलबारीस्थित टेलिकम कार्यालयमा बाँधिएका गाईगोरु ।

विराटनगर : मोरङको बेलबारी नगरपालिका ३ मा रहेको नेपाल टेलिकमको कार्यालय गाईगोठमा परिणत भएको छ ।  

कार्यालय रहेको स्थानमा बुधबार पुग्दा कार्यालय परिसरमा १ सयभन्दा बढी गाईबस्तु बाँधिएका थिए । सो स्थानमा टेलिकमका तारलगायत महत्वपूर्ण सामान गोबरले पुरिएका थिए । त्यहाँ रहेको टावर केही वर्षअघि नै हावाले लडाइसकेको थियो ।

 

सो स्थानबाट धेरै सामान हराइसकेका छन् भने कतिपय सामान खिया लागेर कामै नलाग्ने भएका छन । जीर्ण बनेको गेटमा ताला लगाए पनि केही स्थानीयले ताला फोरेर गाई बाँध्ने गोठ बनाएका छन् । 

कार्यालय परिसरमा करोडौं मूल्यका टेलिकमका सामग्री जतासुकै छरिएका छन् । बन्द रहेका केही कोठासमेत खण्डहर बनेर भत्किने अवस्थामा पुगेका छन् ।

 

कम्पाउन्डसमेत भत्किएपछि सोही ठाउँ लागुपदार्थ दुव्र्यसनीको अखडासमेत बनेको छ । २०५४ सालमा तत्कालीन बेलबारी गाउँ विकास समितिका तर्फबाट सो स्थानमा टावर निर्माण गर्ने सहमतिका साथ २ कट्ठा जग्गा उपलब्ध गराइएको थियो । 

टावर निर्माण भए पनि सो टावरले सेवा प्रवाह नगरेको र उल्टै जग्गा ओगटेर यति बेला लथालिंग बनेको स्थानीयको गुनासो छ । वर्षौदेखि सो स्थानलाई न त टेलिकमले प्रयोग गर्न सकेको छ न त नगरपालिका ले नै उपयोग गर्न सकेको छ ।

 

बेलबारी नगरपालिका भइसकेको र स्थानीय निर्वाचन भएर जनप्रतिनिधिसमेत आएको एक वर्ष बितिसके पनि सो ठाउँको उपयोग नभएको भन्दै स्थानीय आक्रोसित छन् । 

सोही ठाँउमा केही समयअघि ट्राफिक पोस्ट बनाउन पहल गरे पनि सफल नभएको र राज्यको करोडौंको सम्पत्ति यसरी नष्ट हुँदा समेत टेलिकम र नगरपालिकाले चासो नदिएको भन्दै नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापाले रोष प्रकट गरेका छन् ।

 

उनले नगरपालिकाले यो ठाउँ कि उपयोग गर्न या त खाली गर्नुपर्ने समेत बताएका छन् । राज्यको सम्पत्ति यसरी दुरुपयोग हुनु दुःखद रहेको उनले बताए । स्थानीय कुलबहादुर थापाले नगरपालिकाले समेत यस बिषयमा चासो नदेखाउँदा दुःख लागेको बताए ।  

 

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख अमरनाथ झाले यस विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै शाखा अधिकृत प्रकाश शर्मासँग बुझ्न आग्रह गरे । शर्माले टावर तारले बाँधिएका कारण हावाले लडाएको र त्यसपछि सो स्थानमा के गर्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस्