सकसमा मुख्यमन्त्रीहरु



काठमाडौं : चारवटा प्रदेशले प्रदेशको नाम र राजधानी टुंगो लगाएपनि तीन वटा प्रदेशले अझैसम्म प्रदेशको नाम र राजधानी सम्बन्धी निर्णय गर्न सकेका छैन । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी यस अघिनै निर्णय गरिसकेका छन् ।

तीन नम्बर प्रदेशको नाम र राजधानीका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्देशन दिएपछि केही दिन अघि मात्रै टुंगो लागेको छ । तर, बाँकी तीन वटा प्रदेशले अहिलेसम्म नाम र राजधानी टुंगो लगाउन नसक्दा आलोचना भइरहेको छ ।

प्रदेश नम्बर १, २ र ५ ले अझैसम्म यसबारे निर्णय लिन सकेका छैन । प्रदेशको नाम र राजधानी टुंगो लगाउन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, २ का मुख्यमन्त्री लालबाबु राउत र ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सकस परेको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राई र प्रदेश नम्बर ५ का पोखरेल प्रदेश नम्बर ३ को नाम र राजधानी पार्टी सचिवालयले तोके जस्तै आफ्ना प्रदेशहरुको पनि नाम र राजधानी केन्द्रले नै तोकिदिओस् भन्ने चाहना राखेका छन् । आफू विवादमा पर्ने भयले गर्दा उनीहरु दोषको भारी आफूले नबोकी केन्द्रलाई नै भारी बोकाउन चाहन्छन् । प्रदेश नम्बर १ मा प्रदेश राजधानी विराटनगर राख्न सहमति भएपनि नामका विषयमा गम्भीर विवाद छ । यस विषयमा सत्तारुढ दल नेकपा भित्रै मतभेद देखिएको छ ।

गत वैशाखमै स्थायी राजधानी विराटनगर राख्ने सहमति भएपनि नाम टुंगो लगाउने विषय पेचिलो बन्दै गएको छ । जनजाती मन्त्री र प्रदेश सभा सदस्यहरुले किरात नाम राख्न दवाव दिइरहेका छन् भने पहिचानवादीहरुले किरातका साथै लिम्बुवान, खम्बुवान र कोचिला राख्नुपर्ने तर्क अघि सारेका छन् ।

त्यस्तै संसारकै सबैभन्दा अग्लो चुचुरो रहेको सगरमाथा रहेको यस प्रदेशमा यसैको नामबाट नामाकरण गर्नुपर्ने तर्क पनि बलियो बन्दै आएको छ । त्यस्तै कतिपयले कोशी नाम राख्नुपर्ने पनि माग गरेका छन् ।

प्रदेश नम्बर १ को नामाकरणका विषयमा भूगोल की जातीय सभ्यता, संस्कृतिका के आधारमा नामाकरण गर्ने भनेर रस्साकस्सी चलिरहेको छ । यो विषयले मुख्यमन्त्री राईमाथि चर्को दवाव परिरहेको छ ।

सत्तारुढ दल नेकपा संसदीय दलका सचेतक बृद्धिकुमार राजभण्डारी अब १ नम्बर प्रदेशको नामाकरणका विषयमा सगरमाथा वा किरात राख्ने गरी छलफल अघि बढेको बताउँछन् ।

त्यस्तै प्रदेश नम्बर २ मा पनि प्रदेशको नाम र राजधानीका विषयमा ठूलै लफडा छ । प्रदेशको नाम र राजधानी तय गर्ने प्रस्तावसहित बोलाइएको प्रदेश सभाको बैठक सूचना टाँसेरै पटक–पटक स्थगित हुँदै आएको छ । प्रदेश राजधानी जनकपुर नै राख्ने विषयमा सहमति नजिक पुगेका दलहरु नामाकरणका विषयमा भने आ–आफ्नो प्रस्ताव अघि सारेका छन् ।

सत्तारुढ दल राजपा र समाजवादी पार्टीले २ नम्बर प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी राख्नुपर्ने अडान लिएको छ । त्यस्तै अर्को प्रतिपक्षी दल नेपाली कांग्रेसले भोजपुरा वा मिथिला राख्नुपर्ने माग अघि सारेको छ ।

उता प्रदेश नम्बर ५ मा प्रदेशको नाम लुम्बिनी राख्नेमा करिब करिब सहमति भएको देखिन्छ । तर, राजधानीको विषय भने पेचिलो बनेको छ । केही दिन अघि मात्र नाम र राजधानीका विषयमा सहमतिका साथ प्रस्ताव तयार पार्न प्रदेश संसदीय समितिले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र राजधानीका लागि बुटवल, कपिलवस्तु र दाङ मध्ये एक ठाउँ राख्ने गरी सिफारिस गरेको छ । यो सिफारिससँगै प्रदेशमा प्रदेशको राजधानीको विषय फेरी बल्झिएको छ । यो विषय मुख्यमन्त्री पोखरेलका लागि टाउको दुखाईको विषय बनेको छ ।

पोखरेल निर्वाचनका बेला दाङलाई नै प्रदेशको राजधानी बनाउने मुख्य एजेण्डासहित दाङबाट निर्वाचित भएका थिए । उनले यो विषयलाई प्रमुखता दिएका छन् । दाङलाई प्रदेश राजधानी बनाउने विषय उनको गृहजिल्लामा उनको राजनीतिसँग जोडेर हेरिएको छ । केन्द्रीय राजनीतिमा पहुच र प्रभाव राख्ने पोखरेललाई राजधानी तोक्ने विषयले निकै तनावमा परेको छ ।

सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल भने प्रदेशको राजधानी बुटवल नै राख्ने अडानमा छन् । त्यसै कारणले पनि निर्णयमा ढिलाई हुन गएको हो । उता ५ नम्बर प्रदेशका बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउने चर्चा पनि राजधानी तोक्ने विषयसँग जोडिएको बताइन्छ ।

सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल अब छिट्टै नै ५ नम्बर प्रदेशले नाम र राजधानी टुंग्याउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्