सांसदका प्रश्नको जबाफ दिन सरकारलाई सभामुखको निर्देशन



काठमाडौं : सभामुख कृष्णबहादुर महराले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले प्रश्न गर्न चाहेका थिए । सभामुखले प्रश्न सोध्ने अनुमति नदिएपछि सांसदले रोस्टम घेरेर नाराबाजी गरेका थिए । नाराबाजीकै कारण बैठक स्थगित गर्नुपर्ने अवस्था आएको थियो । 

त्यसपछि बुधबार बसेको संसद् बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने बताए । उनले सरकार जिम्मेवार ढंगले प्रस्तुत नभए आफूहरु बैठक अवरुद्ध गर्न बाध्य हुने चेतावनी पनि दिए । 

खाँणले संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए । सांसदको प्रश्न गर्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले आइतबारको घटनामा सभामुखको पनि ध्यानाकर्षण गराए ।

त्यसपछि सभामुख महराले सार्वजनिक महत्वको वक्तव्य दिँदा सांसदको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्