सशस्त्र प्रहरीको वृत्ति विकास नरोक्न सरकारलाई निर्देशन



काठमाडौं : संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।

सशस्त्र प्रहरी बलको बढुवालगायतका वृत्ति विकास रोकिएको गुनासो आईरहेकोले त्यसको विधिसम्मत समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् । समितिले सशस्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवालगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशस्त्र प्रहरी ऐन संशोधन प्रक्रिया सुरु गरिएको समितिलाई जानकारी गराए ।

उनले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । 

 

प्रतिक्रिया दिनुहोस्