चुरे दोहन र वन विनासले प्राकृतिक विपद : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आज (मंगलबार) जनकपुरमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागोष्ठीमा केलाउने प्रवृति अन्त गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राउतले चुरे दोहन र वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको बताए । उनले भने,‘तल देखी माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भइरहेको छ ।’

प्रकृतिमाथि भइरहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरि रहेको बताउँदै मुख्यमन्त्री राउतले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठूलो समस्या निम्तिने चेतावनी समेत दिए ।

नीति अनुसन्धान प्रतिस्ठानका सदस्य डा.सुरेन्द्र लाभको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश निति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रमुख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्