पहिलो चरणको व्यापार वार्ता सकारात्मक : अमेरिकी प्रतिनिधि



बेइजिङ : संयुक्त राज्य अमेरिका र चिनियाँ अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् । 

 

व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ देखि लागू हुनेगरी तीनमहिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो । 

 

व्यापार वार्ता सुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ । 

 

बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककिन्नीले संवाददाताहरुलाई अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जानकारी दिए । उनले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताए । ‘मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,’ उनले भने ।

 

राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए । 

 

अमेरिकी उपव्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मङ्गलबार नै समाप्त हुनेगरी तय भएको थियो । वासिङ्टनले अमेरिकी प्रविधिको जबर्जस्ती चीनमा स्थानान्तरणका साथै चिनियाँ कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाएको छ ।

 

व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब रहेको एएफपीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्