बार्सिलोनाले किन अर्नेस्टोलाई बर्खास्त गर्यो?



काठमाडौं : बार्सिलोनाका मुख्य प्रशिक्षकमा रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिन नियुक्त भएका छन्। बार्सिलोनाले अर्नेस्टो भल्भर्डेलाई बर्खास्त गरि सेटिनलाई नियुक्त गरेको हो ।

बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा परेका हुन्।

५५ बर्षका भल्भर्डेले दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भएका थिए । उनले बार्सिलोनालाई स्पेनिस लिगको शीर्ष स्थानमा राख्न समेत सफल थिए । तर च्याम्पियन्स लिगको फाईनल पुग्न टिम असफल बनेको थियो ।

लगातार दुई सिजन ला लिगाको उपाधि दिलाएका भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना यो सिजन गोल अन्तरका आधारमा अघि रहँदै आएको छ । तर यो सिजन बार्सिलोनाले लगातार जस्तो अप्रत्यासित हार या बराबरीको नतिजा निकाल्दै आयो।

बार्सिलोनाले भल्भर्डेसंगको सम्झौता समाप्त गर्दै उनले क्लब परिवारलाई गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ । नयाँ प्रशिक्षक सेटिनसँग बार्सिलोनाले साढे दुई वर्षको सम्झौता गरेको छ ।

‘बार्सिलोना र सेटिन बीच सन् २०२२ को जुन ३० सम्मका लागि बार्सिलोनाको पहिलो टोलीलाई प्रशिक्षण दिने सहमति भएको छ ,’ बार्सिलोनाले बेवसाइटमार्फत विज्ञप्ती जारी गरेको छ । ६१ वर्षे सेटिनले आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्