भारतले नहरमा ढिलो पानी छाड्दा तीन जिल्लाकाे गहुँखेती प्रभावित



वीरगन्ज : भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँखेती प्रभावित हुने भएको छ ।

 

भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडिसक्नुपर्नेमा भारतीय पक्षको नहरको मूल ढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रप्रसाद साहले भने, ‘गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा केही मात्रामा गहुँखेती भने प्रभावित भएको छ ।’ 

 

भारतीय पक्षले ८ सय ५० क्युसेकमध्ये यस वर्ष नहरमा ५ सय ४० क्युसेक मात्र पानी छाडेकाले उक्त पानी पर्सा र बारामा हुने गहुँखेतीका लागि मात्र पुग्ने तथा आवश्यक भएको खण्डमा मात्र रौतहट जिल्लामा छोडिने डिभिजन प्रमुख साहको भनाइ छ ।

 

‘मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा समयमा पानी नछाड्दा गहुँखेती राम्रोसँग गर्न सकिएको छैन’, किसान शेषमन पण्डितले भने, ‘अकासे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरूपमा गहुँखेती गर्न सकिएको छैन ।’ 

 

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहुँखेती गरेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन् । भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ । समयमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहट जिल्लाको ७६ हजार ५ सय हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेतीको उत्पादन घट्ने किसानको ठम्याइ छ । 

भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलाबाट सुरु भई पर्सा, बारा हँुदै रौतहटको बाग्मती नदीमा मिसिने गर्छ । गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८ सय ५० क्युसेक पानी छोडनुपर्ने हुन्छ । 

 

उर्बरा भूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहँुदै समयमा पानी नआउँदा किसानले समयमा खेती गर्न नसक्ने भएका हुन् । सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्