स्ववियु निर्वाचनमा यी हुन् सम्भावित उम्मेदवार



काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेसँगै विद्यार्थी संगठन भित्र चुनावी प्रतिस्पर्धा शुरु भएको छ ।

संघीय राजधानी काठमाडौंमा रहेका ठूला क्याम्पसहरुमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवार बन्न तथा निर्वाचनमा बिजयी हुन विद्यार्थी नेताहरुले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई फकाउन शुरु गरेका छन् ।

अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र उम्मेदवार हुनका लागि क्याम्पस कमिटीका नेताहरुले लबिङ शुरु गरेका छन् ।

त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा अखिलबाट सावित्री केसी सभापतिको उम्मेदवार हुने चर्चा छ । केसी यसअघि म्याग्दी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । नेविसंघबाट इकाई सचिव रहेका योगेन्द्र रावल सभापतिमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रदर्शनी मार्ग भृकुटीमण्डस्थित नेपाल ल क्याम्पसमा अखिलबाट विशेष शर्मा सुवेदी, प्रतिक कार्की, निश्चल वाग्ले र शिव खरेलको नाम चर्चामा छ । सुवेदी अखिलको क्याम्पस कमिटी सचिव हुन् । यहाँ सुवेदीले अखिलबाट टिकट पाउने सम्भावना प्रवल रहेको छ । ल क्याम्पसमा नेविसंघबाट सुरज सेजुवाल, रोशन घिमिरे र राजकुमार उप्रेतीको नाम स्ववियु सभापतिको उम्मेदवारमा चर्चा रहेको छ ।

रात्नराज्य लक्ष्मी (आरआर)मा अखिलबाट स्ववियु कोषाध्यक्ष भएका संगम देवकोटा उम्मेदवार हुने कसरतमा रहेका छन् । अखिलबाटै यहाँ मदन भण्डारी, विश्वनाथ शंकर र शिवशंकर न्यौपाने समेत सभापति पदका लागि दावेदारी प्रस्तुत गर्दै लबिङ गरिरहेका छन् । नेविसंघबाट सुनिल शर्मा उम्मेदवार बन्न खोजेका छन् । शर्मा स्ववियु सदस्यमा निर्वाचित भएका आर आरका प्रभावशाली नेताका रुपमा रहेका छन् ।

यस्तै शंकरदेव क्याम्पसमा अखिलबाट क्याम्पस इकाई कमिटी अध्यक्ष रहेका आशिष तुम्बाहाम्फे लिम्बु र नेविसंघबाट दिपक ओझा स्ववियु सभापतिको प्रतिस्पर्धामा उत्रेका छन् । पदमकन्या क्याम्पसमा अखिलबाट संगिता रेग्मी र नेविसंघबाट राधा ढुंगाना, अर्पणा खड्का स्ववियु सभापतिमा उम्मेदवारी दिँदै छन् ।

महेन्द्ररत्न ताहाचलमा अखिलबाट क्याम्पस कमिटी अध्यक्ष रहेका लोकेन्द्र बोहरा र नेविसंघबाट कपिल थापा, कमल पन्त र शानुकाजी अर्याल उम्मेदवार हुने प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै मिनभवनस्थित एनसीसीमा अखिलबाट टिका धमला र नेविसंघबाट विष्णुहरि खड्का सभापति बन्ने दौडमा रहेका छन् । ग्रामीण आदर्श कलेज बालाजुमा अखिलबाट केन्द्रीय कार्यालय सचिव रहेका राजेन्द्र गजुरेल तथा नेविसंघबाट लक्ष्मी सिलवाल, जिवन राणा, सन्तोष गुरुङ र किरण भट्टराई स्ववियु सभापतिमा उम्मेदवारी दिने चर्चा रहेको छ ।

एनआर कलेज नेपालटारमा नेविसंघबाट पवन थापा र स्वेच्छा उप्रेतीले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । अमृत साइन्स क्याम्पस असकलमा अखिलबाट खेम सिंहले सभापतिका लागि तयारी गरिरहेका छन् । यस्तै वानेश्वर क्याम्पसमा अखिलबाट प्रमिला लामाले सभापतिमा उम्मेदवारी दिने चर्चा रहेको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा अखिलबाट विवेक देवकोटाले स्ववियु सभापति दिने अखिलभित्र चर्चा भइरहेको छ ।

त्रिवि कार्यकारी परिषदको बैठकले १४ फागुनमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । त्रिविले मिश्रित निर्वाचन प्रणाली अनुसार स्ववियु निर्वाचन गर्ने जनाएको छ । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करिब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियु विहीन छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

विसं २०७३ मा करिब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनियरिङ, थापाथली इञ्जिनियरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा निर्वाचन भएको थियो ।

विसं २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एक वर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

शुरुमा नेपाल विद्यार्थी सङ्घले उमेर हदबन्दीको विरोध गरेको थियो । पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै सङ्गठन सहमत भएका थिए ।

२०६९ सालमा स्ववियु निर्वाचनको हुन लाग्दा अन्तिम समयमा आएर स्थगित भएको थियो । अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्