अष्ट्रेलियाको भयावह डढेलोको धुँवाले पृथ्वीलाई एक फन्को लगाउने



एजेन्सी : अमेरिकी राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) अष्ट्रेलियाको डढेलोबाट निस्किएको धुँवाले पृथ्वीलाई एक फन्का लगाउने बताएको छ ।

नासाले विगत तीन महिनादेखि अष्ट्रेलिायाको जंगलमा लागेको आगोले उग्र रुप लिएपछि त्यसको धुँवा उडेर प्रशान्त महासागरसम्म पुगिसकेको र त्यसले अब छिट्टै पृथ्वीलाई परिक्रमा गर्ने बताएको हो ।

नासाका अनुसार उक्त धुँवाले नयाँ वर्ष २०२० को पहिलो दिन नै उत्तर अमेरिकाभन्दा पर पुगिसकेको र यसले जनवरी ८ सम्म पृथ्वी घुमिसक्नेछ ।

लगभग ५० करोड जीवजनावर जलेर नष्ट भइसकेको उक्त आगलागीमा अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । साथै २ हजार भन्दा बढी घर जलेर नष्ट भइसकेको अवस्थामा पनि आगो नियन्त्र णमा आएको छैन ।

आगलागीको स्वरुप अत्यधिक ठूलो भएकाले अस्वभाविक रुपमा आँधीबेहरी ल्याएको बीबीसीले जनाएको छ । उक्त आगलागीमा निस्किएको धुँवा १७.७ किलोमिटर माथिसम्म पुगिसकेको छ ।

आगलागीले अष्ट्रेलियाको आकाश रगतजस्तै रातो देखिएको छ भने आगलागीबाट निस्किएको धुँवाले न्यूजील्याण्ड र अमेरिकासम्म नराम्रो असर पुर्याएको छ । त्यहाँको वायु प्रदुषण बढाएको मात्रै होइन न्यूजिल्याण्डको हिमालको टुप्पोको हिउँलाई समेत कालो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्