सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दाे



बुटवल : प्रदेश नं ५ स्थित बुटवलका विभिन्न सेयर ब्रोकर (दलाल) कार्यालयमा नयाँ लगानीकर्ता बढ्न थालेका छन् । सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । 

बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत देखिएका छन् । उनीहरुले एकल रुपमा रु २० हजारदेखि एक लाखसम्म लगानी गरेका छन् । 

 

‘विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म सेयर लिएका छन्’, दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भने । उनले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताए । 

 

एसियन सेक्युरिटिज प्रालि (२६) नं. दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पुँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको बताए । सेयर बजारमा विभिन्न कलेजका विद्यार्थीको आकर्षण बढेको उनले जानकारी दिए ।

 

रुपन्देहीस्थित सफल नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष कमल तिवारीले सेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएको बताए । हालको अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने उनको भनाइ छ ।

 

पुस, माघ र फागुन सेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ ।  अध्यक्ष तिवारीले आगामी चैतदेखि पुँजी बजार ‘बुलिस’ अवस्थामा जाने दाबी गरे । 

बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले दुई हजारभन्दा बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झन्डै दैनिक एक करोडको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्